
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रचार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले भ्रष्टाचारीलाई आजीवन कारावासको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
उनले उच्च ओहोदामा रहेका राजनीतिज्ञ, कर्मचारी तथा अन्य पदाधिकारीहरूको सम्पत्ति छानबिन गरी गैर कानुनी रूपमा आर्जित सम्पत्ति राष्ट्रियकरण गर्ने र भ्रष्टाचारीलाई बाँचुन्जेल कैदमा राख्ने व्यवस्था गर्नुपर्ने बताएका हुन् ।
बस्नेतले भने, ‘देशमा जताततै सुनिने र जताततै देखिने गरी केही भएको छ भने ‘त्यो भ्रष्टाचार हो’। मुलुकमा व्यापक भ्रष्टाचार हुन्छ’ भनी ढुक्कका साथ भन्न सकिने अवस्था बनेको छ ।’
भ्रष्टाचार नियन्त्रणका लागि मानिसको सोच, संस्कार र व्यवहारमा सुधार ल्याउनुपर्नेमा उनको जोड रहेको छ । भ्रष्टाचार मुलुकमा भयङ्कर डरलाग्दो रोगको रूपमा फैलिएको भन्दै बेलैमा सजग नभए यसले मुलुकलाई ठुलो दुर्घटनामा लैजान सक्ने उनको भनाइ छ ।