
रौतहट - रौतहटको कटहरिया नगरपालिका १ मावि भासेढवाको कम्प्युटर चोर्ने तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कटहरिया १ भासेढवा बस्ने बिगन दासको छोरा वर्ष २७ का मुकेश दास, सोही ठाउँका जयमङल दासको छोरा वर्ष १९ का राधेश्याम दास र विजय दासका छोरा वर्ष १८ का राजु दास रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताए ।
उनीहरू ईलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएर चोरी शीर्षक मुद्दामा म्याद थप भै अनुसन्धान भइरहेको डिएसपी कार्कीले जानकारी दिएका छन्।
गत शनिबार राती मावि भसेढवाको विद्यालय भवनको दोस्रो तल्लामा रहेको लेखा शाखाको गेटको ताल्चा फुटाई डेल कम्पनीको कम्प्युटर सेट एक थान चोरी गरी लगेका थिए ।
चोरीको अनुसन्धान गर्दै जाँदा घटनाको भोलिपल्ट आइतबार साँझ प्रहरीले आरोपी मध्येका राजु दासको घरमा छापा मारेको थियो। छापामारको क्रममा विद्यालयबाट अहिले चोरी भएको सबै सामानका साथै विद्यालयमा पहिले चोरी भएको केही सामान समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
मावि भासेढवामा यसभन्दा अगाडि दुई पटक चोरी भएको थियो । २०७७ साल र २०८१ सालमा विद्यालयको कम्प्युटर लगायतको सामान चोरी भएको प्रधानाध्यापक राममंगल यादवले बताएका छन्। विद्यालयको छेउमै घर भएको आरोपीहरूले विद्यालयमा यस अघि पटक पटक चोरी गरेको अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
रौतहटको सामुदायिक विद्यालयमा चोरीको घटना हुँदा राजनीतिक दबाब देखि अनेकन् प्रभाव परेको कारण घटना लाई भित्र भित्रै मिलाउने परम्पराको कारण चोरको मनोबल उच्च भएको स्थानीयहरूले बताएका छन्।