काठमाडौं - गृहमन्त्री रमेश लेखकले गैरआवसीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले राजनीतिक अधिकार प्राप्त नगर्ने बताएका छन् ।
मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै एनआरएनए आफैँमा एउटा नागरिकता भएको भन्दै उनले नागरिकता प्राप्त गर्नेले राजनीतिक अधिकार प्राप्त नगर्ने बताएका हुन् ।
‘अंगीकृत नागरिकताको लागि सीमा तोकिएजस्तै गैरआवसीय नेपाली नागरिकताको लागि पनि सिमा तोकेर गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त गर्नेछ भन्नुको मतलब राजनीतिक अधिकार प्राप्त गर्दैन भन्ने अर्थ मान्ने हो । तर एनआरएनए आफैमा एउटा नागरिकता हो,’उनले भने ।
उनले गैर आवसीय नेपाली नागरिकताको बारेमा नेपाल सरकारले छुट्टै विधेयक तयार गर्न लागेको बताए ।
उनले नेपालको नागरिकबाट जन्म भई नेपालमा नै बसोबास गरिरहेको र बाबुको पहिचान गर्न नसकिएको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिने बताए ।
बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गरिएको छ ।