काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले हाम्रा भाषा, संस्कृति र सभ्यताहरू हराउँदै गइरहेको बताएका छन् ।
मातृभाषा नेपाल भाषाको प्रयोग, प्रचार र प्रवर्द्धन विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले नेपालको मूल्य, मान्यताहरू हराउँदै गर्दा संस्कृति एवम् सभ्यता जोगाउने र यसको संरक्षण गर्ने कुरामा सबैको ध्यान जान जरुरी रहेको बताएका हुन् ।
उनले भने, ‘हाम्रा भाषा, संस्कृतिहरू अहिले मेटिँदै गएका छन् । हराउँदै गएका छन् । हाम्रो सभ्यताहरू समेत हराउँदै गइरहेका छन् । अनुशासन, मूल्य, मान्यताहरू हराउँदै गएको महसुस भइरहेको छ । यसलाई सबैले ध्यान दिएनौं भने भोलिको पुस्ताले के गर्लान् यो सोच्न आवश्यक छ । संस्कृति सभ्यता जोगाउने र यसको संरक्षण गर्ने कुरामा हाम्रो ध्यान जान जरुरी छ ।’
साथै उनले अहिलेको आवश्यकता र मागलाई बुझ्दै सुधार गर्दै जानुपर्ने अवस्था रहेको समेत बताए । उनले अहिले सरकारले संविधानमा देखिएका कमीकमजोरीहरूलाई संशोधन गर्ने कुरा उठाएको र त्यसलाई संशोधन गर्दा आवश्यक कुराहरू के छन् त्यतातिर सरकारको ध्यान जानुपर्ने बताए ।