Harsamaya
उत्पीडनविरुद्ध राष्ट्रिय दलित गोलमेच सम्मेलन हुदैँ
उत्पीडनविरुद्ध राष्ट्रिय दलित गोलमेच सम्मेलन हुदैँ ।

काठमाडौं - दलित समुदायमाथि उत्पीडन बढ्दै गएकाले त्यसलाई रोक्न तथा मुक्तिका लागि भन्दै राष्ट्रिय दलित गोलमेच सम्मेलन हुने भएको छ ।

शनिबार पत्रकार सम्मेलनको आयोजन गरी अगामी जेठ ३०, ३१ र असार १ गतेसम्म काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सम्मेलन गरिने राष्ट्रिय दलित गोलमेच सम्मेलन आयोजकले बताएका छन् ।

आयोजक राष्ट्रिय दलित गोलमेच सम्मेलनका संयोजक डा.निर्मल विश्वकर्माले विश्व परिवेशमा गोलमेच सम्मेलनको अभ्यास भइसकेको सफल विधि भए पनि नेपालको लागि पहिलो हुने बताए ।

आफूहरूले गर्ने गोलमेच सम्मेलन कुनै राजनीतिक पार्टी या संस्थाबाट प्रेरित वा परिचालित नभई नेपाल र दलित समुदायका लागि मौलिक साध्य हुने विश्वकर्माले ठोकुवा गरे ।

सदियौँ देखिको दलित समुदायमाथिको उत्पीडन र त्यसबाट मुक्तिको प्रयास वा सङ्घर्ष अभियानको समीक्षा गर्दै संयोजक विश्वकर्माले राज्यसत्तामा पूर्ण समानुपातिक प्रतिनिधित्व, राज्यका स्रोतहरूमा हिस्सेदारी र धर्म सुधारलगायतका मुख्य तीन वटा एजेण्डमा बहस हुने जानकारी दिए ।

सामाजिक अभियन्ता तथा लेखक होमराज आचार्यले २१ औँ शताब्दीमा पनि दलित समुदायमाथि छुवाछुत र अपमानको डन्डा वर्षिनु दुर्भाग्य भएको बाताए ।

देशमा भएको लामो सङ्घर्ष र परिवर्तनपछि दलित तथा उत्पीडित वर्गले न्यायसहित समानतापूर्वक बाँच्न पाउने अधिकार उपभोग गर्न नपाएको बताउँदै भने, ‘परिवर्तन त भयो त्यही परिवर्तनसँगै दलितमाथि नयाँ किसिमले उत्पीडन लादिन थालेको छ ।’ ‘यसै सन्दर्भमा गोलमेच सम्मेलनले त्यस किसिमको षड्यन्त्रलाई चिर्ने आशा पलाएको छ, आयोजकलाई शुभकामना,’ आचार्यले थपे ।

गोलमेच सम्मेलनका सचिवालय सदस्य तथा प्रवक्ता राजेश मयाल विक(अग्नी शिखा)ले देशका ७ प्रदेश र ७७ वटै जिल्लाहरूबाट सम्मेलनको लागि काठमाडौं आउने क्रम जारी रहेको जानकारी दिँदै, सम्मेलन दलित मुक्तिको लागि कोषे ढुङ्गा सावित हुने विश्वास लिए ।

राष्ट्रिय दलित गोलमेच सम्मेलन मूल आयोजक समिति सचिवालय सदस्य राजेश नेपालीले सात दशक लामो दलित आन्दोलन र संविधान सभाबाट निर्मित २०७२ को संविधान कार्यान्वयनको १० वर्षीय समीक्षा गर्दै वैचारिक र नवीन आन्दोलनको आवश्यकता रहेको बताए ।

गोलमेच सम्मेलनका सचिवालय सदस्य तारासिंह विकले ६० लाख दलितलाई गोलमेच सम्मेलनले एक ठाउँमा ल्याउने आधार खडा गर्ने विश्व लिए ।

अर्का सचिवालय सदस्य तथा अधिवक्ता निर्मला परियारले दलित उत्पीडनविरुद्ध विभिन्न संघ संस्था तथा व्यक्तिहरूले अभियान चलाए पनि खासै फरक नपरेकाले गोलमेचबाट नयाँ निकास निस्किने बत्ताइन् ।

मूल आयोजक समिति सदस्य मनोज रामले आजको समयमा पनि तराई क्षेत्रमा व्यापकरुपले दलित समुदायमाथि अन्याय भइरहेको र हालचालै दलितको घरलाई डोजर चलाएर विस्थापित गरिएको बताए ।

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update