Harsamaya
बेपत्ता गोताखोरको खोजी जारी, एक जनाको शव फेला

काठमाडौं  - सप्तकोशी नदीमा बेपत्ता भएको एक जना गोताखोरको शव  भेटिएको छ । सशस्त्र प्रहरी बलले शुक्रबार बिहानैबाट खोजी जारी राखेको छ । त्यसै क्रममा एक जनाको शव भेटिएको हो । उनको सनाखत भने हुन बाँकी छ ।

सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा शुक्रबार अपराह्न मनसुनजन्य विपद्को पूर्व तयारी अभ्यास गर्ने क्रममा हरदेव राजवंशी र सुरज साउद बेपत्ता भएका थिए । उनीहरूसहित ५६ जनाको टोली बिहीबार ७ः४५ बजेदेखि नै विपद् उद्धार अभ्यासका लागि कोशी नदीमा खटिएको थियो । सो क्रममा दिउँसो ३ बजेर १० मिनेटमा उनीहरू बेपत्ता भएका थिए ।

उनीहरूको खोजीमा दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी, ६ नम्बर गण सप्तरी र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट विशेष तालिमप्राप्त गोताखोरसहित करिब ६० जनाको सुरक्षा फौज खटाइएको छ ।

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले शुक्रबार बिहान दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीबाट डिएसपीको कमान्डमा ४ जना गोताखोर सहित ३५ जनाको टोली खटाइएको जानकारी दिए ।  यसैगरी ६ नम्बर गण सप्तरीबाट विपद् व्यवस्थापन तालिम प्राप्त सहित डिएसपीको कमान्डमा २० जना सुरक्षा फौज परिचालन गरिएको छ । थप खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरका अनुभवी प्रशिक्षक डिएसपी पुरुषोत्तम भण्डारीको कमान्डमा ५ जना गोताखोरलाई पनि बिहीबार राति १०ः४५ बजे त्यसतर्फ पठाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  ०९:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update