Harsamaya

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल विनम्र र बुलन्द आवाजका साथ अगाडी बढ्ने बताएका छन् ।

नेपाल पर्यटन बोर्डले पाटा नेपाल, नेपाल एयरलाइन्सलगायत अन्य निजी क्षेत्रसँगको सहकार्यमा आयोजना गरेको अन्तर्राष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट (एचटीएम)’को मंगलबार उद्घाटन गर्दै मन्त्री पाण्डेले नेपालको कसैसँग दुस्मनी र नेपालमा कुनै आन्तरिक समस्या नरहेकाले अगाडी बढ्ने बताएका हुन् । 

उनले भने, ‘पछिल्लो समय सकारात्मक भन्दा पनि नकारात्मक सन्देश फैलाउन खोज्ने हाबी भएको देखिन्छ । नेपालको कसैसँग दुस्मनी र नेपालमा कुनै आन्तरिक समस्या नरहेकाले नेपाल अब पछाडि फर्कने अवस्थामा नरहेकाले नेपाल विनम्र र बुलन्द आवाजका साथ अगाडी बढ्छ ।’

आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने कला, संस्कृति राष्ट्रिय गौरव भएको उल्लेख गर्दै मन्त्री पाण्डेले भने, ‘यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेछ ।’ मन्त्री पाण्डेले जलवायु परिवर्तनको जोखिम नियन्त्रणका लागि सबै लाग्नुपर्ने बताए ।

साथै, उनले सार्वजनिक र निजी क्षेत्र बिच बलियो सहकार्य बढाउनुपर्ने समेत बताए ।

नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले आयोजना गरेको मार्टमा ३० भन्दा बढी मुलुकका १०० बढी विदेशी पाहुनासहित पर्यटनकर्मी, सरोकारवाला गरी ७०० प्रतिनिधिको सहभागिता छ । नेपाल एयरलाइन्सलगायत अन्य प्रमुख पर्यटन सङ्घ, संस्था र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका साझेदार संस्थासँगको सहकार्यमा सो मार्ट आयोजना गरिएको हो ।

मार्ट अन्तर्गत सञ्चालित सम्मेलनमा २० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय वक्ताले आध्यात्मिक, साहसिक र ‘लक्जरी’ पर्यटन, दिगो पर्यटन, समकालीन बजार प्रवृत्ति, वर्तमान मुद्दा र पर्यटनका लागि उदीयमान अवसरबारे साझा दृष्टिकोण प्रदान गर्नेछन् ।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update