
जनकपुर - मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयको आयोजनामा जनकपुरधाममा राष्ट्रिय शिक्षा सम्मेलन हुने भएको छ । शिक्षा तथा संस्कृतिमन्त्री रानी तीवारीले सोमबार पत्रकारसम्मेलनमार्फत असार १० र ११ गते राष्ट्रिय शिक्षा सम्मेलन गर्न लागेको जानकारी दिएकी छन् ।
उनले प्रदेश र देशको शिक्षा प्रणालीलाई यथार्थपरक, समावेशी र भविष्यमुखी बनाउने दिशामा नयाँ बहस र मार्ग चित्रको सुरुवात गर्ने उद्देश्यले सम्मलेन गर्न लागेको जानकारी दिइन ।
मधेश प्रदेशलाई प्राथमिकतामा राख्दै शिक्षा क्षेत्रको वर्तमान अवस्था, चुनौतीहरू, सम्भावनाहरू मागि गहिरो छलफल, अभ्यासहरू आदान प्रदान र सहकार्यमा आधारित नवप्रवर्तनशील रणनीतिहरू निर्माण गर्न यो सम्मलेनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्री तिवारीले बताइन् ।
सम्मेलनमा सात वटै प्रदेशका शिक्षामन्त्री तथा सचिवहरू, संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधिहरू, संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्यहरू, विश्वविद्यालय, अनुसन्धान संस्था र शिक्षा विज्ञहरू, शिक्षक संघ, विद्यार्थी संगठन, नागरिक समाजहरूको उपस्थिति हुने मन्त्री तिवारीले जानकारी दिइन् ।
सम्मेलनले शिक्षा क्षेत्रमा क्रियाशील रहेका सरकारी निकाय, दातृ संस्था, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था, शैक्षिक संस्था, नागरिक समाज र शिक्षाविद्हरूलाई एउटै साझा मञ्चमा ल्याएर शिक्षा सुधारका पक्षहरूबारे छलफल गर्ने जनाइन् ।