Harsamaya

काठमाडौं - गृहमन्त्री रमेश लेखक र सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका पदाधिकारीहरूबीच छलफल भएको छ । विभिन्न माग राख्दै यातायात व्यवसायीहरूले आन्दोलन गरिरहेका बेला  गृह मन्त्रालयमा दुवै पक्षबीच आज बिहान छलफल भएको हो ।

छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले छलफलमा वार्ता कमिटी गठन गरिने सहमति भएको बताए ।

उनले प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’को मान्यतालाई स्थगन गर्ने र आफूहरूले गरेको आन्दोलनलाई पनि सघन गर्ने गरी अगाडि बढ्ने वातावरण बनाउनका लागि छलफल दिनभरि नै चल्ने बताए ।

उनले भने, ‘हामीले सरकारसँग धेरै पटक सम्झौताहरू सरकारसँग गर्यौं । यसपालि उधारो सम्झौता गर्ने वाला छैनौं । कुनै नाजयज मागहरू राखेका छैनौं । गण्डकी प्रदेश सरकारले गैरकानुनी रुपमा राइड सेयरिङलाई मान्यता दिएको छ यो फिर्ता लिनुपर्छ भनेका हौं । तर आजको छलफलमा वार्ता कमिटी गठन गर्ने सहमति भएको छ । वार्ता कमिटीमा यातायातका चार र  अन्य मन्त्रालयका सात गरि ११ जनाको वार्ता कमिटि गठन गरेर आजबाटै छलफल हुने सहमति भएको छ । आज दिनभरि नै बसेर यसको निचोड निकालेर प्रदेश सरकारले ल्याएको राइड सेयरिङको मान्यतालाई स्थगन गर्ने गरेका आन्दोलनलाई पनि सघन गर्ने गरी अगाडि बढ्ने वातावरण बनाउनका लागि अनुरोध गरेका छौं । अब यातायातमा कहिले पनि आन्दोलन नहुने गरेर एउटा वातावरण बनाउनुपर्छ ।’

विभिन्न माग राख्दै यातायात व्यवसायीहरुले आन्दोलन गरिरहेका छन् । आज देशभरि नै सार्वजनिक यातायात ठप्प रहेको छ । विशेषगरी अहिले उनीहरूले ‘राइड सेयरिङ’को विरोध गरिरहेका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update