Harsamaya
`बाङ्गे मुडा´ : दाँत दुखाइ निको पार्ने अनौठो थान, चाँदीको सिक्का ठोक्दा राहत हुने जनविश्वास
बाङ्गे मुडा। तस्वीर: हर समय/Har Samaya

काठमाडौं - ठमेल हुँदै नरदेवीको साँघुरो गल्ली पार गर्दै नयाँ सडकतिर जाँदा एउटा अनौठो थान भेटिन्छ, जुन 'स्या: धो' (दाँत दुखाइ निको पार्ने देवता) को नामले चिनिन्छ। नेवारी भाषामा यसलाई 'वैश्य देव' भनिन्छ भने स्थानीयहरू बीच यस थानमा चाँदीको सिक्का ठोक्दा दाँतको पीडा निको हुने जनविश्वास रहिआएको छ।

थानको बीचमा रहेको बाङ्गो काठको खोलमा रहेको सानो खोँचलाई नै देवता मानिन्छ। यद्यपि, यहाँ कुनै मूर्तिको स्पष्ट दृश्य छैन किनभने पूरै काठ चाँदीको सिक्काले ढाकिएको छ। स्थानीयका अनुसार, पहिले यो ठाउँलाई श्यामरु भनिन्थ्यो तर बाङ्गिएको काठका कारण अहिले `बाङ्गे मुडा´ को नामले चिनिन्छ।

नेवार समुदायका पत्रकार सुरेश किरणका अनुसार, काष्ठमण्डप निर्माणपछि बाँकी काठ यही ल्याएर थान निर्माण गरिएको हो भन्ने जनश्रुति छ। सो स्थानमा सानो सभा भवन पनि बनाइएको थियो, तर त्यसको लिखित प्रमाण हालसम्म भेटिएको छैन। अर्को रोचक मान्यता अनुसार, यो काठ पहिले असनदेखि भोटाहिटीसम्म फैलिएको थियो भने त्यसका केही अंशहरू घर निर्माणको क्रममा फेला परेको जनश्रुति छ।

चिकलमुङ्गा (चिकमुग:) मा पनि यस्तै प्रकारको काठ राखिएको छ र त्यहाँ पनि सिक्का ठोक्ने चलन छ, यद्यपि त्यो स्थान दाँत दुखाइ निको पार्ने थानको रूपमा प्रचलित छैन। `बाङ्गे मुडा´मा भक्तजनले माटोको भाँडोमा चामल, सुपारी र चाँदीको सिक्का राखेर पूजा गर्ने र पछि सिक्का ठोकिने परम्परा छ।

वर्तमानमा यो स्थान वरपर थुप्रै दन्त चिकित्सक (डेन्टिस्ट) हरू रहेका छन्, जसले गर्दा धार्मिक विश्वास र आधुनिक चिकित्सा विचको यो संयोग अझ रोचक देखिन्छ।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  ०८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update