
सिन्धुपाल्चोक - त्रिपुरासुन्दरी जीवनदायी मानिएको बाल्का टेकानपुर– तौथली सडकको ४८ वर्षपछि कालोपत्रे गर्ने कार्य सुरु भएको छ । बागमती प्रदेश सरकारले छ करोड बजेट विनियोजन गरेपछि उक्त सडक कालोपत्रे गर्न थालिएको सो गाउँपालिकाको वडा नं. ६ का पूर्व वडाध्यक्ष रामचन्द्र बुढाथोकीले जानकारी दिए । विसं २०३३साल देखि बाल्काबाट तौथलीसम्म १६ किलोमिटर सडक खनिएको थियो। लामो समय उक्त सडक कच्ची रहेर अब बल्ल कालोपत्रे हुने भएको हो ।
उक्त बजेटबाट सुरुमा छ किलोमिटर कालोपत्रे गरिने पूर्व वडाध्यक्ष बुढाथोकीले बताए । सोही सडक खण्डको केही स्थानमा सडक मर्मत सुधार थालिएको छ । अरनिको राजमार्गको झोलुङ्गे ड्याम साइटबाट बाल्का, टेकानपुर, तौथली हुँदै दोलखाको खरीढुङ्गा पुग्न उक्त सडक वैकल्पिक अवस्थाको भइरहेको छ । त्यस्तै वडा नं. ६ तौथलीमा यसअघि नै दुई किलोमिटर सडक कालोपत्रे भइसकेको छ ।
बागमती प्रदेश सरकारले गत वर्ष उक्त सडक खण्ड कालोपत्रेका लागि छ करोड रुपियाँ उपलब्ध गराएको थियो । बाल्का टेकानपुर– तौथली सडकका लागि आर्थिक वर्ष २०७६/७७ मा सात करोड लागतमा ८० मिटर लामो पक्की पुल निर्माण भएको थियो। अहिले उक्त सडकमा बाह्रै महिना सवारीसाधन सञ्चालन हुँदै आएका छन् । सो सडकलाई लामोसाँघु–जिरी सडकको वैकल्पिक सडक मानिन्छ ।