Harsamaya
२० प्रतिशत पनि काम नगर्ने ठेकेदारको ठेक्का तोडियो, ३८ करोड दाखिला गर्न पत्राचार
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - अछाममा सडक निर्माणको काम अलपत्र पार्ने निर्माण व्यवसायीको ठेक्का तोडिएको छ। काम सुरु गरेको चार वर्ष बित्दा पनि भौतिक प्रगति १९.८३ प्रतिशत मात्रै पुगेपछि सडक डिभिजन कार्यालय साँफेबगरले ठेक्का अन्त्य गरेको हो।

मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने १० किलोमिटर सडक निर्माणका लागि २०७९ वैशाख १६ गते सम्झौता भएको थियो। ३९ करोड ९९ लाख २९ हजार रुपैयाँ लागत अनुमान गरिएको सडक २०८२ वैशाख १६ सम्म निर्माण सम्पन्न गर्नुपर्ने थियो। म्याद २०८३ वैशाख १६ सम्म थपिए पनि काम पूरा नभएपछि ठेक्का तोडिएको हो।

ठेक्का अन्त्यसँगै निर्माण व्यवसायीलाई ३८ करोड २३ लाख ९६ हजार ४९३ रुपैयाँ दाखिला गर्न सडक डिभिजन कार्यालयले पत्राचार गरेको छ।

कार्यालयले लामो समयदेखि काम अलपत्र पारिएका अन्य पाँचसहित सडक तथा पुल निर्माणका छ वटा रुग्ण ठेक्का पनि अन्त्य गरेको जनाएको छ। २०७६ सालदेखि काम रोकिएका योजनामा साँफे–मार्तडी सडक मर्मत, चौखुट्टे क्षेत्रमा सडक मर्मत तथा नाली निर्माण, बाजुराको कोल्टी–कवाडी–बिच्छ्याँसैन सडक र मंगलसेन–सुवाखाँद–खेतगैरे–जुलिमारे–ढकारी सडक रहेका छन्।

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update