काठमाडौं - उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले साइकलको महत्व र प्रयोगलाई बढाउन आवश्यक रहेको बताएका छन् ।
विश्व साइकल दिवसको उपलक्ष्यमा स्वच्छ हावा र सडक अधिकारको लागि साइकल र्याली कार्यक्रममा बोल्दै उनले मोटरसाइकल र गाडीहरूको यात्रा गर्दा धुँवा–धुलोले वातावरणलाई दूषित गरिरहेकाले साइकल यात्रा हरेक कुरामा फाइदा जनक भएको बताएका हुन् ।
‘साइकलको महत्वलाई हामी सबैले बुझ्न जरुरी छ । यो र्याली वर्षको एकचोटि मात्रै गरेर हुँदैन । अनवरत रूपमा लागि रहनुपर्छ । साइकलको महत्व र प्रयोगलाई बढाउन आवश्यक छ । साइकल यात्रा गर्दा हरेक कुरामा फाइदा छ । मोटरसाइकल र गाडीहरूको यात्रा गर्दा धुवाँ धूलोले वातावरणलाई चाँही दूषित गरिरहेको छ ।’
साथै उनले साइकल लेन हुनुपर्छ भन्ने यात्रुहरूको गुनासोलाई सहरी विकास मन्त्रालयले ध्यान दिने पनि बताए । उनले यस्ता साइकल र्यालीहरुले स्थानीय बासिन्दाहरूको लागि सचेतना फैलाउने एउटा माध्यम समेत हुने गरेको बताए ।
उनले भने, ‘साइकल लेन हुनुपर्छ भन्ने धेरै यात्रीहरूको गुनासो छ । त्यसलाई सहरी विकास मन्त्रालयले ध्यान दिने छ । काठमाडौं उपत्यकामा धेरै धुवाँ धूलोले गर्दा फोक्सोको रोगीहरू बढिरहेका छन् । यसरी रोकथाम गर्नको लागि जुन र्यालीको अभियान चलाउनुभयो यो अभियानले स्थानीय बासिन्दाहरूको लागि सचेतना फैलाउने एउटा माध्यम पनि हो ।’