Harsamaya
सार्वजनिक स्थललाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र बनाउन सरोकारवालाको सुझाव
सुर्तीजन्य पदार्थ ।

काठमाडौं - सुर्तीजन्य पदार्थको सेवनले मानव जीवनमा गम्भीर असर पार्ने भन्दै सार्वजनिक स्थललाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र बनाउन आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरूले धारणा राखेका छन् ।

शुक्रबार विश्व धूम्रपान दिवसका अवसरमा काठमाडौं महानगपालिका वडा नम्बर ७ ले आयोजना गरेको कार्यक्रममा काठमाडौं महानगपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विमल कुमार होडाले सुर्तीजन्य पदार्थको सेवनबाट मानव शरीरमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर गरेको हुनाले यसलाई न्यूनीकरण गर्न आवश्यक रहेको बताए ।

उनले सुर्तीजन्य पदार्थ नियन्त्रणमा ल्याउन राज्य तथा सरकारी निकायले पनि साथ दिनुपर्ने बताए । उनले सार्वजानिक स्थलमा सुर्तीजन्य पदार्थ निषेधित बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘सुर्तीजन्य सेवनबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर गरेकाले यसको न्यूनीकरण आवश्यक छ । सुर्तीजन्य पदार्थ नियन्त्रणमा ल्याउन राज्य तथा सरकारी निकायले पनि साथ दिनुपर्छ । सार्वजानिक स्थलमा सुर्तीजन्य पदार्थ निषेध गर्नुपर्छ,’उनले भने । 

कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीले अहिलेको युवा पुस्तामा सबैभन्दा विकराल समस्या नै सुर्ती जन्य पदार्थ सेवन भएकाले यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए ।

सुर्तीजन्य पदार्थबाट मानसिक एवम् शरीरका विभिन्न अंगमा असर गर्ने भएकाले सचेत रहन आग्रह गरे । सुर्तीजन्य पदार्थ सार्वजनिक स्थलमा रोक लगाउने हो भने हजारौं मानिस अप्रत्यक्ष रूपमा जोगिन सक्ने उनको दाबी छ  । 

‘अहिलेको युवापुस्तामा सबैभन्दा विकराल समस्या नै सुर्तीजन्य पदार्थ छ । यसलाई नियन्त्रण गर्न चाँही  आवश्यक  छ । सुर्तीजन्य पदार्थबाट मानसिक तथा शरीरको प्रत्येक अंगमा असर गर्छ । सुर्तीजन्य पदार्थ सार्वजनिक स्थलमा रोक लगाउने हो भने हजारौं मानिस अप्रत्यक्ष रूपमा जोगिन सक्छन्,’उनले भने । 

त्यस्तै नेपाल विकास अनुसन्धान प्रतिष्ठान, अनुसन्धान विज्ञ, डा.जयकुमार गुरुङले हाल दक्षिण एसियामा नेपाल धूम्रपानको पहिलो नम्बरमा परेको जानकारी दिए । उनले नेपालमा प्रत्येक वर्ष २८ हजार १ सय १० भन्दा बढी मानिस धूम्रपानको शिकार हुने गरेको भन्दै नेपालमा ६७ लाख भन्दा बढीले धूम्रपान गर्ने गरेको पनि जानकारी गराए  । 

हरेक वर्ष मे ३१ मा धूम्रपान तथा सुर्तीजन्य पदार्थको घातक असर र यसले परिवार, समाज र वातावरणमा पार्ने असरबारे सचेत गराइन्छ । विश्वमा हरेक वर्ष करिब ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने गर्दछ ।

काठमाडौं महानगपालिका वडा नम्बर ७ ले विगत ७ वर्ष देखि धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । वडाले आम जनमानसको जीवन वृद्धिका लागि विद्यालय स्तरदेखि नै यसबारे सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update