सङ्खुवासभा - सङ्खुवासभामा साउनयता स्क्रब टाइफसका सङ्क्रमितको सङ्ख्या ५६० पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी दिपेश श्रेष्ठका अनुसार साउनदेखि असोज २१ गतेसम्म जिल्ला अस्पतालमा ३९३ र जिल्लाका विभिन्न पालिकाका स्वास्थ्य संस्थामा १६७ जनामा स्क्रब टाइफस पुष्टि भएको हो।
चालु आर्थिक वर्षमा कोशी प्रदेशका १४ जिल्लामध्ये सङ्खुवासभामा सबैभन्दा बढी सङ्क्रमित भेटिएको श्रेष्ठले बताए । सङ्क्रमितको सङ्ख्याका आधारमा सङ्खुवासभा कोशी प्रदेशमा पहिलो र देशभरमा तेस्रो स्थानमा रहेको उनको भनाइ छ।
जिल्लाका १० स्थानीय तहमध्ये सभापोखरी गाउँपालिका सबैभन्दा बढी जोखिममा देखिएको छ। सभापोखरीमा ११० र चैनपुर नगरपालिकामा ४३ जनामा स्क्रब टाइफस पुष्टि भएको श्रेष्ठले जानकारी दिए ।
जिल्ला अस्पतालमा आर्थिक वर्ष २०८०/८१ मा ५४८, २०८१/८२ मा ३४१ र २०८२/८३ मा ४६७ जना स्क्रब टाइफसका बिरामी भेटिएका थिए। चालु आर्थिक वर्षको तीन महिनामै ५६० जना सङ्क्रमित भेटिनु गत आर्थिक वर्षभरि जिल्ला अस्पतालमा भेटिएका सङ्क्रमितभन्दा बढी हो।
वर्षायाममा घाँसपात तथा झाडी बढ्नुका साथै त्यसमा काम गर्ने क्रम बढ्ने भएकाले स्क्रब टाइफसका सङ्क्रमित बढेको श्रेष्ठले बताए । जिल्लामा हालसम्म स्क्रब टाइफसका कारण कसैको मृत्यु भने नभएको स्वास्थ्य कार्यालयले जनाएको छ।
उच्च ज्वरो, टाउको तथा शरीर दुख्ने, जाडो लाग्ने, ग्रन्थि सुन्निने, छालामा बिमिरा आउने तथा किर्नोले टोकेको स्थानमा कालो खटिराजस्तो दाग देखिनु स्क्रब टाइफसका प्रमुख लक्षण हुन्। लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।

