
काठमाडौं - बजेट आय र व्ययको विवरण हो । सरकारलाई राजस्व उठाउन र खर्च गर्न दिने कानुन हो । बजेट ‘विनियोजन विधेयक’, ‘राष्ट्र ऋण उठाउने विधेयक’ र ‘आर्थिक विधेयक’ को रूपमा अर्थमन्त्रीले संसदमा प्रस्तुत गरिन्छ । नेपालमा जेठ १५ गणतन्त्र दिवसमा संसदमा बजेट पेश गर्नु पर्ने संवैधानिक प्रावधान छ । संविधानको धारा ११९ को उपधारा (३) मा ‘नेपाल सरकारको अर्थमन्त्रीले राजस्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ महिनाको १५ गते संघीय संसदमा पेस गर्नेछ’ भन्ने प्रावधान छ ।
सामान्यतया बजेटलाई आय र व्ययको विवरण भनिएता पनि बजेट गत आर्थिक वर्षको आर्थिक गतिविधिहरूको अभिलेख, चालु आर्थिक वर्षका आर्थिक गतिविधिहरूको चित्रण र आगामी वर्षका गतिविधिहरूको प्रक्षेपित अनुमानको दस्ताबेज हो । विश्वमा बजेट प्रणालीको सुरुवात सन् १७३३ मा बेलायतबाट भएको हो । जति बेला बेलायतका तत्कालीन प्रधानमन्त्री रवर्ट वालपोलले कालो छालाको झोलामा राखी बजेट पेश गरेका थिए ।
नेपालमा वि.सं. २००८ साल मार्ग १ गते देखि औपचारिक रूपमा बजेट घोषणा सुरु भएको हो । तत्कालीन अर्थमन्त्री सूवर्ण शमशेरले सांसद समक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए । जसमा राजस्व ३ करोड ६ लाख १९ हजार रुपैयाँ राखिएको थियो । नेपालको पहिलो बजेट नेपाली काँग्रेसका नेता मातृकाप्रसाद कोइराला सरकारले ल्याएको थियो । त्यसअघिका सरकारका बजेट पारिवारिक हुन्थे । जनता लक्षित कार्यक्रम हुँदैनथे ।
२००७ सालमा प्रजातन्त्र आएपछि बजेट सांसदसमक्ष प्रस्तुत गर्ने प्रणालीको विकास भएको हो । १०४ वर्षे जहानियाँ राणा शासनको शोषणमा रहेका जनताले यो बजेटले पहिलो पटक आर्थिक स्वतन्त्रताको अधिकारको महसुस गरायो । हालसम्म २२ जना अर्थ मन्त्रीले संसदमा बजेट पेस गरेका छन् ।
आज संसदमा अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दैछन् । गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएर बजेटका सिद्धान्त र प्राथमिकता समेत संसदबाट पास भएसँगै सरकारले आज बजेट ल्याउन लागेको हो । आज दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको लागि बजेट पेस गर्ने कार्यसूची रहेको छ ।