
काठमाडौं - नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको संस्थागत विकासमार्फत मात्र समुन्नत, सभ्य र समृद्ध नेपाल निर्माण गर्न सकिने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाली जनताको बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षा गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका हुन् । उनले लोकतन्त्रको संरक्षण र संवर्द्धनका लागि योगदान गर्ने सबैमा सम्मान प्रकट गरेका छन् ।
उनले लेखेका छन् ‘नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको स्थापना तथा पुनः स्थापना, लोकतन्त्रको संरक्षण र संवर्द्धनका लागि हरेक लोकतान्त्रिक आन्दोलनमा सहभागी थुप्रै सन्ततिले अमूल्य जीवन उत्सर्ग गरेका छन्’, ‘तिनै ज्ञात–अज्ञात वीर सहिदप्रति गणतन्त्र दिवसका अवसरमा उहाँहरूको गौरवपूर्ण योगदान, अदम्य साहस, समर्पण र बलिदानको स्मरण गर्दै उच्च सम्मानका साथ श्रद्धाञ्जली अर्पण गर्दछु ।’
विसं २०६२÷६३ को जनआन्दोलनको ऐतिहासिक सफलतापछि काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले संविधानसभाको निर्वाचन सम्पन्न गरेको थियो । त्यसैको परिणामस्वरूप, २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रको औपचारिक अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिएको थियो ।