Harsamaya
मधेश प्रदेश सरकारविरुद्ध नाराबाजी तथा विरोध जुलुस
जनकपुरधाममा मधेश प्रदेश सरकारविरुद्ध शहीद परिवारका सदस्यहरूको नाराबाजी ।

जनकपुर - जनकपुरधाममा मधेश प्रदेश सरकारविरुद्ध शहीद परिवारका सदस्यहरूले नाराबाजी गर्नुका साथै विरोध जुलुस निकालेका छन् ।

विभिन्न माग राख्दै हिजो (सोमबार)देखि शान्तिपूर्ण आन्दोलनमा उत्रेका मधेश प्रदेशका आठवटै जिल्लाका शहीदपरिवारका सदस्यहरूले आज प्रदेश सरकारविरुद्ध नाराबाजी गर्दै जुलुस निकालेका हुन् । जनकपुरधामको मुख्य चोकहरूको परिक्रमा गर्दै जनक चोकमा कोण सभा गरेका छन् ।

उनीहरूले मधेशी शहीदप्रतिष्ठानमा तत्काल सदस्य नियुक्त गर्नुपर्ने, शहीद परिवारका सदस्यहरूका लागि प्रदेश सरकारले घोषणा गरेको स्वास्थ्य बीमा लागु गर्नु पर्ने, एक परिवार एक रोजगारी दिनुपर्ने र शहीद परिवारका छोराछोरोहरूलाई शिक्षामा छात्रवृत्ति दिनुपर्ने माग राखेका छन् ।

विगतमा आफ्ना समस्याहरू सुनाउन पटक पटक गृहमन्त्री राजकुमार लेखी र मुख्यमन्त्री सतिश कुमार सिंहलाई भेट्न जाँदा उनीहरूले घण्टौं बसाएर आश्वासन बाहेक अरू केही नदिएको शहीद चन्दन पटेलका पिता अवदेश पटेलले आरोप लगाएका छन् । 

उनले शहीदपरिवारलाई अहिलेको जनमत नेतृत्वको सरकारले कुनै वास्ता नगरेको गुनासो गरे । मधेश सरकारले आफूहरूको माग पूरा नगरे जिल्ला मुख्यमन्त्रीदेखि अन्य मन्त्री र नेताहरूलाई जिल्ला प्रवेश गर्न नदिने उनले चेतावनी दिएका छन् ।

पटेलले शान्तिपूर्ण आन्दोलनले सरकार नजागे आमरण अनसनमा बस्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update