
फिदिम - नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीका कार्यकर्ताले नेताको झोला मात्र बोकेर नहुने बताएका छन् । आम सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न पाँचथरको फालेलुङ आएका कोइरालाले काँग्रेस कार्यकर्ताहरू स्वाभिमानी बन्नुपर्ने बताएका हुन् ।
‘नेपाली काँग्रेसका कार्यकर्ताहरूले नेताको झोला बोक्ने र उनीहरूको पछि कुदेर मात्र हुँदै’, कोइरालाले भने ‘कार्यकर्ताहरू स्वाभिमानी बन्नुपर्छ । आफूलाई आफैले सक्षम नेतृत्वको रूपमा स्थापित गर्नुपर्छ । नेता खुसी पार्न हैन जनतालाई खुसी बनाउने काम कार्यकर्ताले गर्नुपर्छ ।’
नेपाली काँग्रेस फालेलुङ गाँउपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी ओलीले जथाभाबी बोल्दै हिँडेको आरोप लगाए ।
‘ओलीजीले जथाभावी बोलिरहनुभएको छ’, प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति इङ्गित गर्दै कोइरालाले भने ‘प्रधानमन्त्रीले एमालेका कार्यकर्तालाई काठमाडौं कब्जा गर्न निर्देशन दिन मिल्दैन ।’ प्रधानमन्त्रीले पार्टीका कार्यकर्तालाई अनावश्यक उक्साएको कोइरालाको भनाई थियो ।
आइतबार नेकपा एमाले बागमाती प्रदेश कमिटिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले जेठ १५ गते राजधानी काठमाडौंलाई एमालेको कब्जामा राख्न निर्देशन दिएका थिए । सोही दिन राजावादीहरूले पनि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । प्रधानमन्त्रीकै कारण देश मुठभेडतर्फ गएको कोइरालाको ठहर थियो ।