Harsamaya
गृहमन्त्री लेखकलाई बचाउन ‘काँधै थाप्ने’ निर्णयमा कांग्रेस 
गृहमन्त्री रमेश लेखक र सभापति शेरबहादुर देउवा ।

काठमाडौं - सत्तामा रहेको दल नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखकलाई बचाउन ‘काधै थाप्ने’ निर्णय गरेको छ । 

पार्टीको सोमबार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले गृहमन्त्री लेखकलाई बचाउन लागि पर्ने निर्णय गरेको हो । 

गृहमन्त्री लेखकलाई भिजिट भिसा प्रकणमा जोडेर राजीनामा माग भइहरेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मोटो रकम उठाएर भिजिट भिसाको दुरूपयोग गरी मानिसलाई विदेश पठाउन सहजीकरण गर्ने गरेको सूचनापछि अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छापा मारेको थियो।

सो क्रममा अख्तियारले अध्यागमनका प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छाडेको थियो। अख्तियारले उनको मोबाइल लगायत डिभाइसलाई नियन्त्रणमा लिएर प्रयोगशालामा पठाएको छ। सो प्रकरण पश्चात् गृहमन्त्री लेखक पनि संलग्न भएको भन्दै उनको राजीनामा माग भइरहेको छ । 

यी नै विषयमा आज पार्टी पदाधिकारी र पूर्व पदाधीकारीबीच छलफल भएको हो । छलफलले गृहमन्त्री लेखक दोषी नभएको र राजीनामा दिनुपर्ने कुनै कारण नभएको निष्कर्ष निकालेको नेता गोपालमान श्रेष्ठले जानकारी दिए । 

‘कर्मचारीले गरेको गल्तीमा मन्त्री दोषी हुनुपर्दैन । त्यसैले उहाँले राजीनामा दिनुनपर्ने निष्कर्ष पार्टी बैठकको छ‚’ उनले भने‚ ‘पार्टीले उहाँलाई सकेजति सेभ गर्ने निर्णय भएको छ।’

आजको बैठकमा गृहमन्त्री लेखकले घटनाबारे सम्पूर्ण जानकारी गराएका थिए । साथै आफूले अख्तियारले भिजिट भिसा प्रकरण हेर्दैछ र भट्टराई दोषी छन् भन्ने थाहा पाएपश्चात् सरूवा गरेको पनि बताएका थिए । यस विषयमा आफूमाथि प्रहार भइरहेको गुनासो लेखकले बैठकमा सुनाएका थिए । 

‘म माथि नियोजित रूपमा षडयन्त्र गरेर प्रहार गरियो‚’ लेखकले बैठकमा भनेका थिए‚ ‘यसमा मेरो कुनै संलग्नता छैन ।’

बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले लेखकलाई साथ दिँदै नडराउन भनेका थिए । सभापति देउवाले यस्ता किसिमका आरोप राजनीतिमा आइरहने भन्दै भनेका थिए‚ ‘आत्तिने काम छैन । आफ्नो कुरा स्पष्ट रूपमा राख्ने हो। राजीनामा दिनु पर्दैन।’

देउवाले कर्मचारीले गरेको गल्तीमा मन्त्री जिम्मेवार बन्न नसक्ने भन्दै लेखकलाई ढाडस दिएको एक नेता बताउँछन् । 

लेखकले पनि आफूलाई लागेको आरोपबारे बोल्ने त्यसका लागि मंगलबार संसद् बैठकमा समय लिएको बैठकमा जानकारी गराएका छन् । 

बैठक पश्चात् सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रकाश शरण महतले पनि गृहमन्त्री लेखकको गल्ती नभएको बताए । 

‘गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे सविस्तारमा आफ्नो कुरा राख्‍नुभयो। र आफ्नो कुनै पनि हिसाबले संलग्नता छैन। कुनै पनि कमी कमजोरी गल्ती छैन भन्ने कुरा राख्नुभयो,’ उनले भने, ‘त्यो राखेपछि हामीले उहाँको कुरालाई पूर्ण रूपमा विश्वास गर्‍यौं। साँच्चिकै भिजिट भिसा प्रकरणमा उहाँको संलग्नता छैन।’

साथै महतले घटनामा संलग्न जो कोहीलाई पनि कारबाही दायरमा ल्याउनुपर्ने बताए । 

यस्तै आजको बैठकमा क्रियाशील सदस्यता सम्बन्धमा पनि छलफल भएको छ । महामन्त्री गगनकुमार थापाले बैठकमा क्रियाशील सदस्यता नवीकरणको विषयमा भइरहेको प्रगति बारे जानकारी गराएका थिए । उनले केही जिल्लामा विवाद रहेको भन्दै असार मसान्त सम्म सबै विवाद मिलाउने प्रयास भइरहेको पनि बताएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update