
काठमाडौं - माओवादी केन्द्रको आजको बैठकले गृहमन्त्री रमेश लेखकले स्वतन्त्र, निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने निर्णय गरेको छ ।
बैठक पश्चात् माओवादी केन्द्रको पदाधिकारी बैठकका निर्णय सुनाउँदै प्रवक्ता अग्नि सापकोटाले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् ।
उनले भने,‘अहिले अध्यागमनमार्फत नेपालीलाई भिजिट भिषामा विदेश पठाउने कार्यमा गृह मन्त्रालयका कर्मचारी जोडिएका भन्ने विषय छन् । सबैतिरबाट आवाज आइरहेको छ । यसमा नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ,’उनले थप भने,‘नेपाली कांग्रेसभित्रैबाट पनि राजीनामा माग भएको छ र हाम्रो पार्टीको बैठकले पनि अव गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ । पहुँच, प्रभाव र पावर प्रयोग हुनु भएन् । स्वतन्त्र, निश्पक्ष छानविनका लागि उहाँले मार्गप्रशस्त गर्नुपर्छ भन्ने हाम्रो पार्टीले निष्कर्ष छ ।’
यस्तै उनले पार्टीको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान र हुलाकी मार्ग केन्द्र अभियानले राष्ट्रिय एकता, जनजीविका लगायतका कुराहरू नयाँ अध्ययन अनुसन्धान गर्नका लागि मजबुत आधारहरू तयार भएको बैठकले निष्कर्ष निकालेको बताए ।
साथै उनले गंगालाल श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीसँग र नेपा राष्ट्रिय पार्टीबीच एकताको सबै कुरा टुङ्गोमा पुगेको बताए ।