Harsamaya
प्रधानमन्त्रीले दिएको राजधानी कब्जाको निर्देशनले आगोमा घ्यु हाल्ने काम भयो - डा. शेखर 
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला ।

पाँचथर - गणतन्त्र दिवसका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्तालाई राजधानी कब्जाको निर्देशन दिएपछि देशको राजनीतिक तापक्रम चुलिएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘अराजकता निम्त्याउने भाषा’ भन्दै कडा आलोचना गरेका छन्।

नेपाल प्रेस युनियन पाँचथरद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले भने, ‘राजधानी कब्जा गर्न कार्यकर्तालाई निर्देशन दिनु प्रधानमन्त्रीको गैरजिम्मेवारीपनको पराकाष्ठा हो। उहाँको अभिव्यक्ति प्रतिगामी शक्तिका लागि मलजल बनेको छ।’

कोइरालाले सरकार प्रमुखले कानुनी र लोकतान्त्रिक मर्यादा पालना गर्नु पर्नेमा उल्टै उत्तेजक अभिव्यक्ति दिनु राष्ट्रप्रति गम्भीर बेइमानी भएको टिप्पणी गरे।

‘देश जोगाउने जिम्मेवारी प्रधानमन्त्रीको हो, भड्काउने होइन’, कोइरालाले स्पष्ट शब्दमा भने।

प्रधानमन्त्री ओलीले पोखरामा आयोजित कार्यक्रममा जेठ १५ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म काठमाडौं कब्जा गर्न कार्यकर्तालाई निर्देशन दिएको घटनाले लोकतन्त्रप्रति प्रधानमन्त्रीको प्रतिबद्धता माथि प्रश्न उठाएको कोइरालाको भनाइ छ।

यता, भिजिट भिसा काण्डमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने धारणा पनि कोइरालाले पुनः दोहोर्‍याए। उनले भने, ‘सिटौला जी र मेरो विचार फरक भए पनि सोमबार बस्ने पार्टी केन्द्रीय समिति बैठकपछि कांग्रेसको आधिकारिक धारणा सार्वजनिक हुनेछ।’

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  २२:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update