
सिन्धुपाल्चोक - नेपाली सङ्गीत इतिहासमा “गोल्डेन भ्वाइस अफ नेपाल” भनेर चिनिने सिन्धुपुत्र प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्ती यसवर्ष उनको जन्मथलो सिन्धुपाल्चोकको चौतारामा विशेष कार्यक्रमसहित मनाइने भएको छ।
गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानको आयोजनामा जेठ २७ गते मङ्गलबार चौतारास्थित सहिद स्मृति भवनमा कार्यक्रम गरिने तयारी भएको प्रतिष्ठानकी अध्यक्ष किरण प्रधानले जानकारी दिइन्। किरण प्रधान, स्व. प्रेमध्वज प्रधानकी धर्मपत्नी समेत हुन्।
कार्यक्रममा प्रधानका कालजयी गीतहरूको प्रस्तुति, सांस्कृतिक कार्यक्रम, स्रष्टा सम्मान र पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ। पारिवारिक स्रोतअनुसार, स्व. प्रधानले आफ्नो स्मृतिमा जन्मभूमिमा कार्यक्रम आयोजना गर्नुपर्ने चाहना व्यक्त गरेका थिए। सोही अनुसार यसवर्ष चौतारामै कार्यक्रम गरिन लागिएको हो।
यसअघि काठमाडौँमा आयोजना हुँदै आएको स्मृति कार्यक्रम यसपटक चौतारामै पहिलोपटक भव्य रूपमा आयोजना हुन लागेको हो। दुई वर्षको अन्तरालमा आयोजना हुने कार्यक्रम अन्तर्गत यसवर्ष विभिन्न श्रेणीमा चार जना स्रष्टाहरूलाई नगदसहित सम्मान गरिनेछ।
सम्मानित स्रष्टाहरू:
– प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान–२०८२ बाट वरिष्ठ गायिका मीरा राणालाई सम्मान गरिनेछ। नेपाली आधुनिक सङ्गीतमा लामो समयदेखि सक्रिय राणा स्वरको मिठास र शैलीका कारण लोकप्रिय गायिका मानिन्छन्।
– प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यवादन सम्मान–२०८२ वरिष्ठ वादक मोहनकृष्ण कार्कीढलीलाई प्रदान गरिनेछ। उनले बेला तथा स्वरबाजामा विशिष्ट योगदान दिएका छन्।
– प्रेमध्वज प्रधान राष्ट्रिय युवा सङ्गीत पुरस्कार–२०८२ गायक सुरज कुमार थापालाई प्रदान गरिनेछ। स्वरशक्ति र सृजनात्मकतामा उल्लेखनीय क्षमताका कारण उनलाई युवा पुस्ताका प्रेरणाका रूपमा सम्मान गरिन लागेको हो।
– प्रेमध्वज–किरण प्रधान राष्ट्रिय प्रतिभा सङ्गीत पुरस्कार–२०८२ गायक चन्द्र सिं घलेलाई प्रदान गरिनेछ। उनी प्रस्तुतिमा नवीन स्वाद दिन सक्ने क्षमताका कारण सम्मानित हुने भएका हुन्।
सम्मानस्वरूप क्रमशः १ लाख, ५० हजार, ५० हजार र २५ हजार रुपैयाँ नगद राशिसमेत प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।
कार्यक्रममा चौताराबासीको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकले यसलाई केवल एक सांगीतिक कार्यक्रम नभई स्व. प्रधानको स्मृतिमा नेपाली सांगीतिक इतिहासको कदर गर्ने अवसरका रूपमा लिएको छ।