Harsamaya
आनन्द कार्कीले भने– पारिश्रमिक पाउन एक वर्ष कुर्नुपर्‍यो, कलाकारको श्रमको सम्मान हुनुपर्छ
गायक आनन्द कार्की ।

काठमाडौं - गायक आनन्द कार्कीले गायक दुर्गेश थापाबाट गीत रेकर्डिङ र चलचित्र ‘रङ्गी’मा स्वर दिएको पारिश्रमिक पाउन करिब एक वर्ष कुर्नुपरेको बताएका छन् ।

दुर्गेशले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा केही महत्त्वपूर्ण घटनाक्रम छुटेको भन्दै कार्कीले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले आफ्नो असन्तुष्टि रकममा मात्र नभई भुक्तानीमा भएको ढिलाइ, संवादको अभाव र व्यावसायिक जिम्मेवारीसँग सम्बन्धित रहेको बताएका छन् ।

कार्कीका अनुसार पटक–पटक फोन, एसएमएस र मेसेन्जरमार्फत सम्पर्क गर्दा पनि समयमै समस्या समाधान हुन सकेको थिएन । पारिश्रमिक अन्ततः प्राप्त भए पनि त्यसका लागि लामो समय प्रतीक्षा गर्नुपरेको उनको भनाइ छ ।

उनले चलचित्र ‘रङ्गी’को पारिश्रमिकबारे निर्माता शोभित बस्नेतसँग भएको कुराकानी पनि सार्वजनिक गरेका छन् । कार्कीका अनुसार बस्नेतले चलचित्रका लागि डेढ लाख रुपैयाँको प्याकेजमा जिम्मेवारी दिइएको र उनको पारिश्रमिक भुक्तानी नभएको विषय आफूले पछि मात्रै थाहा पाएको बताएका थिए । बस्नेतले भुक्तानीका लागि पहल गर्दै क्यूआर पठाउन भनेपछि आफूले पठाइसकेको कार्कीले उल्लेख गरेका छन् ।

चार दशकभन्दा बढी समय नेपाली संगीत क्षेत्रमा बिताएका कार्कीले आफ्नो आवाज कुनै व्यक्तिविरुद्ध नभई कलाकारको श्रम र अधिकारको पक्षमा रहेको बताएका छन् ।

‘कलाकारको पारिश्रमिक दया वा उपकार होइन, उसको श्रमको न्यायोचित मूल्य हो,’ उनले भनेका छन्, ‘आत्मीयता जिम्मेवारीबाट उन्मुक्ति होइन, बरु विश्वासलाई अझ मजबुत बनाउने आधार हो।’

दुर्गेशप्रति आफ्नो माया, शुभकामना र आशीर्वाद यथावत् रहेको उल्लेख गर्दै कार्कीले सफलतासँगै अरूको श्रमप्रतिको सम्मान, वचनप्रतिको प्रतिबद्धता र व्यावसायिक जिम्मेवारी पनि बलियो हुनुपर्ने बताएका छन् ।

नेपाली संगीत तथा चलचित्र क्षेत्रमा पारदर्शिता, समयमै पारिश्रमिक भुक्तानी र पारस्परिक सम्मानको संस्कार विकास होस् भन्ने उद्देश्यले वक्तव्य सार्वजनिक गरेको उनको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update