काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक अस्पतालमा जँचाउन सल्लाह दिएका छन् ।
शुक्रबार जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत कास्की पुगेका प्रचण्डले आफू राजावादीहरूसँग मिल्ने योजनामा भएको भन्ने गलत अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जँचाउन सल्लाह दिएका हुन् ।
प्रेस सेन्टर गण्डकी प्रदेशद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘तपाईंहरूले सुन्नुभयो प्रधानमन्त्री पोखरा नै आएका थिए कि ने थिए, तिनैले प्रतिनिधि सभामा भनेका थिए, प्रतिगामीका विरुद्ध भव्य र सभ्य आयोजना गरेका भनेर बोल्दै थिए । म सुन्दै छु, राजावादीहरूसँग मिल्ने योजना हो प्रचण्ड जी को भनेर कही न कही बोले रे भन्ने सुन्छु । अहिले त धेरै भन्नु छैन, यदी त्यसो भनेको हो भने म प्रधानमन्त्री ज्यूलाई मानसिक अस्पतालमा जँचाउन म सल्लाह दिन चाहन्छु ।’
उनले माओवादीले प्रतिगामीहरुको विरुद्ध गरेको प्रतिवादले अहिलेको सरकारलाई राहत पुगेको बताए । ‘हामीले राजावादीहरूका विरुद्ध, प्रतिगामीहरूको विरुद्ध गरेको प्रतिवाद सायद अहिलेको भ्रष्टाचारीहरुको सरकारलाई केही न केही राहत पुगेको हामीले महसुस गरेका छौं । उनीहरूप्रति बढ्दै गरेको आक्रोशलाई हामीले प्रतिगामीहरूको राजावादीहरूको, निरङ्कुसतावादीहरुको भण्डाफोर गरिदिदाँ सरकारले थोरै भएपनि राहत महसुस गर्यो,’उनले भने ।
उनले माओवादीको जनजागरण अभियानहरू राष्ट्रिय एकतालाई सुदृढ गर्ने अभियान बन्न पुगेको बताए ।