Harsamaya

काठमाडौं - नेपाल आइडल सिजन ५ का विजेता करन परियारको आवाजमा सजिएको नयाँ म्युजिक भिडियो ‘अँगालोमा’ सार्वजनिक भएको छ। गहिरो भावनात्मक प्रेम कथालाई प्रस्तुत गर्ने यो गीतले दर्शक तथा स्रोतामाझ फरक स्वाद ल्याएको छ।

प्रदीप चापागाँईले लेखेको र निर्माण गरेको गीतमा बाबुल गिरीको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ रहेको छ। भिडियोलाई निर्देशन र कोरियोग्राफी गरेका छन् गम्भीर विष्टले, जसले युवापुस्ताको न्यानो प्रेमभावनालाई कलात्मक ढंगले प्रस्तुत गरेका छन्।

भिडियोमा नजिर हुसेन र गरिमा शर्माको दमदार अभिनय देख्न सकिन्छ। दुई कलेज विद्यार्थीको कथा समेटिएको ‘अँगालोमा’मा एक लजालु केटा आफ्ना साथीहरूको सहयोगमा आफ्नो प्रेम व्यक्त गर्छ भने, अर्कोतर्फ चुपचाप मायामा परेकी केटीले अन्तिममा आफ्नो भावना उजागर गर्छिन्। भावनात्मक उतारचढावसँगै प्रेमको सुकोमल क्षणहरूलाई उजागर गर्ने यस भिडियोलाई हेर्दा दर्शकले आफ्नै कलेज जीवनको झल्को पाउनेछन्।

सांगीतिक पक्षमा करन परियारको स्वरसँगै संगित बुरजा र ललित नारायण झाको कोरसले गीतलाई अझ सशक्त बनाएको छ। भिडियोको सिनेमाटोग्राफी नवराज उप्रेतीले गरेका छन् भने सम्पादन तथा रंग संयोजन प्रभिन भट्टले गरेका छन्।

अन्य प्राविधिक पक्षहरूमा बिमला तामाङको मेकअप र हेयर, कुसुम बुटिकको पहिरन, म्यानिक प्रधानको कला निर्देशन, शम्भु श्रेष्ठको प्रोडक्सन म्यानेजमेन्ट, र सुरेन्द्र बसेलको सह-निर्देशन उल्लेखनीय छन्।

गम्भीर विष्ट, जसले यस गीतलाई निर्देशकीय दृष्टिकोणले जीवन्त बनाए । उनी नेपाली संगीत उद्योगमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निर्देशक हुन्। ‘अँगालोमा’ उनको सिर्जनात्मक क्षमताको अर्को सशक्त प्रमाण हो।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  २१:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update