
सिन्धुपाल्चोक - क्यान्सर पीडित एक नेपाली किशोरीको उपचारका लागि प्रवासमा रहेका नेपालीहरूले आर्थिक सहयोग गरेका छन् । इन्द्रावती गाउँपालिका–५, नारायणस्थान बरु टोलकी १९ वर्षीया रसिला तामाङको उपचार सहयोगार्थ ४ लाख ४० हजार ९ सय संकलन गरी हस्तान्तरण गरिएको हो।
रसिला तामाङ विगत दुई महिनादेखि क्यान्सर रोगबाट ग्रसित भइ हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत छन्। उनका बुबा कालु तामाङ सामान्य परिवारका सदस्य हुन् र घरको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको छ। यही कारणले रसिलाको उपचारमा गम्भीर चुनौती आएको थियो।
उपचार सहयोगका लागि अमेरिका निवासी निमा ह्योल्मो तामाङको सक्रियतामा प्रवासी नेपाली समुदायबाट उक्त रकम संकलन गरिएको हो। यस अभियानमा इन्द्रावती गाउँपालिका–५ का पूर्व वडाध्यक्ष दुर्गा बहादुर तामाङ, समाजसेवी मंगले तामाङ (मनोत्रा झाँक्री), र कर्म लामा ह्योल्मोले महत्वपूर्ण भूमिका खेलेका छन्।
पूर्व वडाध्यक्ष दुर्गा बहादुर तामाङले रसिलाको उपचार सहयोगका लागि सामाजिक सञ्जालमार्फत "रसिला बचाउ अभियान" सुरु गरेका थिए। त्यही अभियान अन्तर्गत विभिन्न देशमा रहेका नेपालीहरुले सहयोग जुटाएका हुन्।
सहयोग संकलनमा सहभागी सबै दाताहरूप्रति रसिलाको परिवार र गाउँलेले आभार व्यक्त गरेका छन्।