Harsamaya
बजेट वक्तव्यका लागि सुझाव र परामर्श लिंदै अर्थमन्त्री
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल ।

काठमाडौं - अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यको तयारीमा जुटेको छ । विभिन्न क्षेत्रहरूबाट प्राप्त सुझावहरूलाई समेत ध्यानमा राखेर अर्थ मन्त्रालय बजेटको तयारीमा जुटेको हो । 

मन्त्रालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले मुलुकको आवश्यकता तथा जनअपेक्षा, उपलब्ध साधन स्रोतको सीमा र प्राप्त सुझावहरूलाई ध्यान दिएर बजेट निर्माणको काम अघि बढाइरहेको जानकारी दिए । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र उनको टिम बजेट निर्माणमा केन्द्रित छ । 

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२ र ०८३ को बजेट निर्माणबारे मन्त्रालयहरू, विभागहरू, राष्ट्रिय योजना आयोग, राजनीतिक दल, जनप्रतिनिधि तथा सम्बन्धित क्षेत्रका विज्ञहरूसँग परामर्श गरेको थियो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले  काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतसँग परामर्श गरेका छन् । अर्थ मन्त्रालयले पूर्व अर्थमन्त्रीहरूसँग समेत परामर्श गरेको थियो ।

त्यसैगरी पूर्वअर्थ सचिवहरू, अर्थविद्हरू, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका विषयतगत संघसंस्थाहरूसँग छलफल गरेको थियो । विकास साझेदारहरूसँग पनि छलफल भएको थियो । 

बजेट निर्माणका सन्दर्भमा जनप्रतिनिधिहरू, विभिन्न संघ संस्थाका पदाधिकारीहरू, नागरिकहरूले पनि अर्थ मन्त्रालयलाई सुझाव दिएका थिए । अर्थ मन्त्रालयले बजेट सम्बन्धी सुझाव दिनका लागि सार्वजनिक रूपमा आह्वान गरेको थियो । 

सरकारको नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त र प्राथमिकताबारे संसदमा छलफल भइसकेको छ । बजेटका सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्रमा सुधार, रोजगारी सिर्जना, डिजिटल अर्थतन्त्रको निर्माण, भौतिक पूर्वाधारको विकास, सामाजिक सुरक्षा लगायतलाई क्षेत्रगत प्रथामिकतामा राखिएको छ । 

जेठ १४ गते संसदमा आर्थिक सर्वेक्षण र जेठ १५ गते बजेट वक्तव्य पेश हुनेछ ।   
 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १७:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update