
काठमाडौं - संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा विपद् व्यवस्थापन (विपद् जोखिम न्यूनीकरण, विपद प्रतिकार्य र विपद् पुनर्लाभ) सम्बन्धमा भएका काम कारबाही, विपद् जोखिम न्यूनीकरणको लागि तयारी तथा भावी कार्य योजना सम्बन्धमा छलफल भएको छ ।
विहीबार बसेको समितिको बैठकमा उक्त विषयमा छलफल सम्पन्न भएको हो ।
सोही क्रममा समिति सदस्य गोपी बहादुर सार्की आछामीले यो सबै विपद्का घटना अव्यवस्थित खालको विकासले निम्ताएको विनाश भएको बताएका छन् ।
उनले भने, ‘यो सबै विपद्का घटना अव्यवस्थित खालको विकासले निम्ताइएको विनाश नै हो । मान्छेको महत्वकांक्षा, आवश्यकता पनि बढ्दै गएको छ । यस कारण मानिसले जुन तरिकाले अहिले विकास गरिरहेको छ, त्यो व्यवस्थित भइरहेको छैन ।’
यस्तै, उनले नेपाल सरकारको व्यवस्थित खालको योजना नभएको भन्दै भएका बस्तीहरू पनि सरकारको योजना अन्तर्गत नपरेको बताए ।
उनले भने, ‘अर्को भनेको व्यवस्थित खालको योजना पनि छैन । जति पनि बस्तीहरू छन् । त्यो सरकारको योजना अन्तर्गत छैन् । अहिले पहाडतिर पूर्वाधार पुगेको छ, स्कुल, कलेज, बाटो, खानेपानी सबै पुगेको छ । तर लाभग्राहीहरू भने पलायन भएर सहरतिर आएका छन् । यो पनि एउटा चुनौतीको रूपमा देखिएको छ ।’