Harsamaya
नागढुङ्गा–नौबिसे सडकखण्ड  १६ दिनसम्म  साढे ४ घण्टा बन्द गरिने
नागढुङ्गा–नौबिसे सडकखण्ड  १६ दिनसम्म  साढे ४ घण्टा बन्द गरिने ।

काठमाडौं - यही जेठ १० गतेदेखि २५ गतेसम्म नागढुङ्गा–नौबिसे सडकखण्ड निर्माणका लागि दिउँसो साढे ४ घण्टा बन्द गरिने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सडक निर्माण आयोजनाको प्रस्ताव अनुसार जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म नागढुङ्गा–नौबिसे सडकखण्ड बन्द गर्न लागिएको जानकारी दिए । विकल्पको रूपमा धार्के–सितापाइला तथा टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

यसअघि वैशाख २२ देखि ३१ गतेसम्म रातिको समयमा मात्र बन्द गरेर काम हुँदै आएकोमा अब दिउँसोमा समेत बन्द गरेर काम गर्न लागिएको हो । नागढुंगादेखि नौबिसे सडकखण्डको मोड सुधार गरेर फराकिलो बनाउने र पिच गर्ने काम भइरहेको छ । सडक निर्माण आयोजनाले यसअघि रातिको समयमा भत्काउने काम भएको र प्राविधिक रूपमा गर्नुपर्ने निर्माणको काम दिउँसो नै गर्नुपर्ने भनेपछि सडक बन्द गर्न लागिएको हो ।

बन्दको समयमा काठमाडौंबाट जाने सवारीसाधनहरू नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधनहरू खानी खोलामा रोकिने छ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  ०७:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update