Harsamaya
वर्षाले देशभरका सडक अवरुद्ध, मुख्य राजमार्गमा यातायात प्रभावित
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडक अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आइतबार जारी गरेको विवरणअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ।

कोशी प्रदेशमा भोजपुरको मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। इलामको मेची राजमार्ग र सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक पूर्णरूपमा अवरुद्ध छन्।

बागमती प्रदेशमा काभ्रेको बीपी राजमार्ग, मकवानपुरको कान्तिलोकपथ, सिन्धुपाल्चोकको अरनिको राजमार्ग र रसुवाको त्रिशूली–मेलुङ–स्याफ्रुबेंसी सडकखण्ड प्रभावित छन्। सिन्धुपाल्चोकको भोटेकोशी–२ कोदारी तथा लिपिङ क्षेत्रमा अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध रहेको छ। रसुवाको उत्तरगया–५ खाल्टे क्षेत्रमा त्रिशूली–मेलुङ–स्याफ्रुबेंसी सडक पनि पूर्णरूपमा बन्द छ।

गण्डकी प्रदेशमा बागलुङको कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा छ भने लमजुङको बेँसीसहर–मनाङ, मुस्ताङको बेनी–जोमसोम र बागलुङको बागलुङ–बेनी सडकखण्ड पूर्णरूपमा अवरुद्ध छन्।

लुम्बिनी प्रदेशमा रोल्पाको थबाङ गाउँपालिका–२ साइलामाइली मोडमा सहिद मार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

कर्णाली प्रदेशमा रुकुम पश्चिमको भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड र सल्यानको राप्ती राजमार्ग पहिरोका कारण पूर्णरूपमा अवरुद्ध छन्।

प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउन सम्बन्धित निकाय तथा सुरक्षा टोली परिचालन भइरहेका छन्। लगातार वर्षा भइरहेकाले यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update