काठमाडौं - लगातारको वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक अवरुद्ध तथा एकतर्फी सञ्चालनमा छन्।
बागमती प्रदेशमा काभ्रेको रोशी–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा सम्भावित बाढीका कारण राति ९ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालन रोकिएको छ। मकवानपुरको हेटौँडा–डिङ्गन–बागमती–ललितपुर सडकखण्डमा समेत सम्भावित बाढी तथा पहिरोका कारण सवारी सञ्चालनमा रोक लगाइएको छ।
सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ कोदारी र लिपिङमा सडक पूर्णरूपमा अवरुद्ध छ। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड तथा धादिङको गजुरी–२ चालिसेमा पृथ्वी लोकमार्ग पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
कोशी प्रदेशमा भोजपुरको मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा छ भने इलामको मेची राजमार्ग र सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडकखण्ड पूर्णरूपमा अवरुद्ध छन्।
त्यस्तै गण्डकी प्रदेशमा बागलुङ, लमजुङ, मुस्ताङ र म्याग्दीका विभिन्न सडकखण्डमा पहिरोका कारण यातायात प्रभावित भएको छ। बागलुङका दुई स्थानमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ भने लमजुङ र म्याग्दीका सडकखण्ड पूर्णरूपमा अवरुद्ध छन्।
लुम्बिनी प्रदेशको अर्घाखाँचीस्थित भिंगे–स्वर्गद्वारी सडकखण्ड पनि पूर्णरूपमा अवरुद्ध छ।
कर्णाली प्रदेशमा रुकुम पश्चिमको भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डका दुई स्थान तथा सल्यानको कपुरकोट गाउँपालिका–४ अडिङ्गालेमा राप्ती राजमार्ग पहिरोका कारण पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
प्रहरीले अवरुद्ध सडक खुलाउन आवश्यक जनशक्ति तथा उपकरण परिचालन भइरहेको जनाएको छ। यात्रुले यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

