काठमाडौं - ‘कमन जेनजी नेपाल’ले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारविरुद्ध आगामी भदौ २३ गते देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ।
संगठनका अध्यक्ष विकेश साहले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत ‘फेक शासनविरुद्ध असल शासन’ नारासहित भदौ २३ गते देशभर प्रदर्शन गर्ने घोषणा गरेका हुन्।
अध्यक्ष साहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सडक आन्दोलनबाट हटेको स्मरण गर्दै ‘केपी ओलीलाई फालेझैँ वालेनलाई पनि सडक आन्दोलनबाट फाल्छौँ’ भन्ने चेतावनी दिएका छन्।
कमन जेनजी नेपालले जेनजी आन्दोलनको उद्देश्य सरकार परिवर्तन मात्र नभई समग्र प्रणालीमा आमूल परिवर्तन रहेको दाबी गरेको छ। तर केही स्वार्थी समूहले आन्दोलनलाई हाइज्याक गरेर सीमित पात्र र सरकार परिवर्तनमा मात्र केन्द्रित गरेको आरोप संगठनले लगाएको छ।
संगठनले वर्तमान सरकारमाथि सुकुम्बासीको उठिबास, युवामाथि गोली प्रहार, संसद तथा संवैधानिक संस्थाको मानमर्दन र नागरिकका संवैधानिक अधिकार खोस्ने प्रयास गरेको आरोप लगाएको छ। साथै किसानले मल नपाएको, मूल्यवृद्धि, करको भार र ग्यास अभावलगायत जनताका समस्या समाधान गर्न सरकार असफल भएको दाबी गरिएको छ।
कमन जेनजीले आफूहरूको आन्दोलन ‘रहर नभई बाध्यता’ भएको जनाएको छ। संगठनले परिवर्तन चाहने युवा, राजनीतिक दल, नागरिक समाज तथा राष्ट्रवादी शक्तिलाई आन्दोलनमा एकजुट हुनसमेत आह्वान गरेको छ।
गत भदौमा सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत ल्याएपछि बालेन शाहको नेतृत्वमा सरकार गठन भएको उल्लेख गर्दै कमन जेनजीले नयाँ सरकारले समेत जेनजी आन्दोलनका माग सम्बोधन गर्न नसकेको आरोप लगाएको छ।

