Harsamaya

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले भ्रष्टाचारलाई शून्यमा झार्ने र दण्डहीनतालाई अन्त्य गर्न सके मात्र देशमा सुशासन दिन सकिने बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित ‘बदलिँदो विश्व परिवेशमा नेपालले अङगाल्नुपर्ने आर्थिक नीति’ विषयक संवाद गोष्ठीमा बोल्दै उनले अहिले जे जति आर्थिक चहलपहल देखिरहेको छ त्यो सबै रेमिट्यान्सबाट मात्रै भएको र त्यसका लागि खाडीमा गएका नेपालीहरूले बचाइराखेको धारणा राखे । 

उनले भने,‘अरू केही होइन् सुशासन दिन सक्यौं भने, भ्रष्टाचारलाई शून्यमा झारौं र दण्डहीनतालाई अन्त्य गरौं भने हामी धेरै माथि पुग्छौं । अहिले जे जति चहलपहल देखिरहेको छौं त्यो सबै रेमिट्यान्सबाट मात्रै हो । हामीलाई खाडीमा रहेका नेपालीहरुले बचाइरहेका छन् ।’

त्यस्तै उनले पहिला–पहिलो डिजिटलाइजेसन भनेको पढेलेखेकाको लागि मात्र चाहिन्छ भन्ने मानसिकतामा रहेको भन्दै गाउँको किसानलाई कसरी डिजिटलाइजेसन गर्ने भन्ने विषय महत्वपूर्ण रहेको औंल्याए । 

उनले भने,‘पहिला–पहिला मेरो मानसिकता यो डिजिटलाइजेसन भनेको पढेलेखेकाको लागि मात्र हो भन्ने थियो । तर गाउँका किसानलाई कसरी डिजिटलाइजेसन गर्ने भन्ने विषय महत्वपूर्ण रहेछ । त्यहाँबाट उनीहरूले उत्पादन बढाउन सक्छन् । मार्केटमा त्यहाँबाट आफ्नो प्रोडक्ट पुर्याउन सक्छन् ।’

त्यस्तै उनले भ्रष्टाचारमा लिप्त हुने प्रवृत्तिको अन्त्य हुनुपर्ने धारणा राखे ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १८:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update