Harsamaya
करेन्ट लागेर मृत्यु भएका उज्वलको घरमा छिमेकीले हालिदिए छानो, किरिया बस्ने ठाउँ पनि बनाइदिए
उज्वल भन्ने उपेश परियारको घरमा गाउँले मिलेर छानो हाल्दै ।

काठमाडौं - काभ्रेको धुलिखेलमा शनिबार करेन्ट लागेर मृत्यु भएका उज्वल भन्ने उपेश परियारको घरमा गाउँले मिलेर छानो हालिदिएका छन् । सर्लाहीको  ईश्वरपुर नगरपालिका–१२ घारिबथानका उज्वल भन्ने उपेश परियारको घरमा गाउँले मिलेर छानो हालिदिएका हुन् ।

गत जेठ १ गते आएको हुरीबतासले उनको घरको छानो उडाएको थियो ।छानो उडाएको दुई दिनपछि शनिबार उज्ज्वलको मृत्यु भयो । 

मृतकका बुवा केशव दमाई र श्रीमती सुशीला परियार पाँच वर्षको छोरा शिशिरलाई सँगै लिएर शव बुझ्न धुलिखेल पुगेका छन् । घरमा दृष्टिविहीन आमा विष्णु दमाई र उज्ज्वलकी आठ वर्षीया छोरी उर्मिला परियार मात्रै छन् । घटनापछि आज बिहान उज्ज्वलका दुई विवाहित दिदी र अन्य आफन्त घरमा आइपुगेका छन् ।

शव लिएर आएपछि काजकिरिया बस्ने ठाउँसमेत नरहेकाले गाउँले मिलेर उज्ज्वलको घरमा छानो छाउने काम गरेको छिमेकी फडिन्द्र पौडेलले जानकारी दिए । 

उज्ज्वल केही समयदेखि धुलिखेल क्षेत्रमा विस्तार भइरहेको हाइटेन्सन लाइनमा ठेकेदारमार्फत मजदुरको रूपमा काम गरिरहेका थिए । शनिवार धुलिखेल नगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालय काभ्रे अगाडि हाइटेन्सन लाइनको खम्बामा चढेर काम गरिरहेका बेला एक्कासि विद्युत् लाइन छोड्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

शनिबारै ठेकेदार कम्पनीले १० लाख र नेपाल विद्युत प्राधिकरणले ५ लाख रुपैयाँ, परियारको परिवारलाई दिने सहमति भएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  २२:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update