Harsamaya
अध्यक्ष केसीलाई पक्राउ गरेर सरकारले संविधानको ठाडो उल्लङ्घन गर्‍यो : सांसद शाही
प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही ।

काठमाडौं -  राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका अध्यक्ष सुजित केसीलाई पक्राउ गरेर संविधानको ठाडो उल्लङ्घन गरेको बताएका छन् । 

आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले नै पटक –पटक रोष्टममा नै फरक मत राख्नेहरू लाई पक्राउ गर्छु भन्ने धारणा राखेको भन्दै प्रधानमन्त्री,गृहमन्त्री र यो सरकार नेपालको संविधानभन्दा पनि ठुलो हो ? भन्दै प्रश्न गरे । यदि संविधानभन्दा सरकार ठुलो हो भने बहुमतको आधारमा संविधानको धारा १७ संशोधन गर्न सुझाव दिए । 

उनले भने,‘फरक विचार राख्ने बित्तिकै जेल हाल्ने, सामाजिक सञ्जालमा लेख्यो भनेर जेल हाल्ने ?आज राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा सङ्गठनका अध्यक्षलाई सामाजिक सञ्जालमा लेखिएको भरमा नै जेल हालिएको छ । नेपालको संविधानको धारा १७ को ठाडो उल्लङ्घन भयो कि भएन ? प्रधानमन्त्रीले नै पटक–पटक रोष्टमबाट फरक मत राख्नेहरूलाई पक्राउ गर्छु भन्नुहुन्छ । के प्रधानमन्त्री र गृहमन्त्री साथै सरकार नेपालको संविधानभन्दा पनि ठुलो हो ? यदि ठुलो हो भने तपाईँहरूसँग बहुमत छ यो धारा संशोधन गर्नुहोस् ।’  त्यस्तै उनले संविधान पालना गर्न नसके सरकारमा बस्नुको कुनै महत्त्व र वैधानिक हुन नसक्ने धारणा राखे । 

अध्यक्ष केसीलाई सामाजिक सञ्जालमा भाम्रक सूचना सम्प्रेषण गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले शुक्रबार  पक्राउ गरेको हो । उनी राप्रपा निकट युवा  भातृ संस्थाका अध्यक्ष हुन् ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update