
काठमाडौं - नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले हालै देशभर देखिएको प्राकृतिक विपद्को जोखिमलाई गम्भीर रूपमा लिन सरकारलाई चेतावनी दिएका छन्। उनले विपद्को समयमा सरकारको भूमिका निर्णायक हुनुपर्ने भन्दै घाइते नागरिकको निशुल्क उपचार व्यवस्था गर्न तत्काल कदम चाल्न आग्रह गरेका छन्।
शुक्रबार आएको हावाहुरीका कारण देशका विभिन्न जिल्लामा जनधनको ठूलो क्षति भएको छ। यस्ता विपद्का घटनामा राज्यका सबै संयन्त्र तत्काल सक्रिय हुनुपर्ने कोइरालाको भनाइ छ। उनले हावाहुरीबाट मृत्यु भएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश दिँदै कोइरालाले भने, `हिजोको हावाहुरीबाट भएको धनजनको क्षतिप्रति दु:खी छु । मृतकप्रति श्रद्धान्जली, परिवारप्रति समवेदना । घाइतेको उपचारको निशुल्क प्रबन्ध मिलोस् । यो विपद्को बेलामा थप सजगता अपनाउन सबैमा आग्रह गर्दछु।´
उनले विशेषगरी वर्षायाम सुरु हुँदै गर्दा पहाडी तथा तराई क्षेत्रमा बाढी, पहिरो र आँधीहुरीको जोखिम बढ्ने भन्दै राज्यलाई पूर्वतयारीमा जुट्न आग्रह गरेका छन्। `विपद् प्रभावित नागरिकको जीवन रक्षाका लागि राज्यका सबै संरचना सक्रिय बन्नुपर्छ,´ उनले जोड दिए।
सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश :-