Harsamaya
गृहमन्त्री लेखक सगरमाथा आधार शिविरमा

सोलुखुम्बु - गृहमन्त्री रमेश लेखकले शनिबार सगरमाथा आधारशिविर (बेसक्याम्प) क्षेत्रको निरीक्षण भ्रमणमा पुगेका छन् । 

पर्यटकीय सिजनको सन्दर्भमा आरोहीहरूको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन र शान्ति सुरक्षासम्बन्धी अवस्था अवलोकन गर्न शनिबार उनी खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा आधार शिविर पुगेका हुन् । 

सो  क्रममा गृहमन्त्री लेखकले सरकारले सगरमाथा क्षेत्रमा उद्धार, पर्वतारोहण सहयोग र पर्यटकहरूको सहजताका लागि निर्बाध रूपमा हेलिकप्टर उड्ने वातावरण सिर्जना गर्न तत्पर रहेको बताए । 

उनले शारीरिक रूपमा कमजोर वा दुर्घटनामा परेका पर्यटकको उद्धारका लागि हेलिकोप्टर अत्यावश्यक रहेको उल्लेख गर्दै, सरकारको नीति यस्तो सेवालाई सहज बनाउने दिशामा केन्द्रित हुने स्पष्ट पारे । 

गृहमन्त्री लेखकले भने,‘सगरमाथा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सरकारले अब फरक ढंगले जनमुखी नीति कार्यान्वयन गर्दैछौँ । हामी उद्धारका हेलिकप्टर उडानमा रोक लगाउने होइन, अव्यवस्थित र अनावश्यक उडानलाई नियमन गर्ने तयारीमा छौं ।’ 

हालसम्म सगरमाथा क्षेत्रमा उद्धार बाहेकका हेलिकप्टर उडान रोक्नुपर्ने भन्ने स्थानीय माग हुँदै आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले बारम्बार हेलिकप्टरको दुरुपयोग भएको भन्दै नियमित उडान रोक्न आग्रह गर्दै आएको हो । 

तर, अर्कोतर्फ पर्यटन व्यवसायीहरुले अत्याधिक हेलिकप्टर उडानमा प्रतिबन्धले व्यवसायमा नकारात्मक असर परेको जनाउँदै, नियमनसहितको स्वतन्त्रता माग गर्दै आएका छन् । 
अन्तरक्रिया कार्यक्रममा गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओली समेत सगरमाथा क्षेत्रमा देखिएका समस्याबारे जानकार रहेको उल्लेख गर्दै समस्या समाधानका लागि सगरमाथा संवाद कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।
 

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update