Harsamaya
नेपालमा अबको १० वर्षमा दक्ष नर्सहरूको अभाव हुने 
ग्राफिक्स : हर समय/Har Samaya

काठमाडौं - आज मे अर्थात् अन्तर्राष्ट्रिय नर्सिङ दिवस । ‘लेडी विथ द ल्याम्प’ को नामले विश्व प्रसिद्ध आधुनिक नर्सिङकी जन्मदाता फ्लोरेन्स नाइटिंगेलको जन्मदिनको अवसरमा यो दिवस संसारभर मनाइन्छ ।

’हाम्रानर्स, हाम्रो भविष्यः नर्सहरूको संरक्षण गरौं, अर्थतन्त्र सबल बनाऔं’ भन्ने मूलनाराकासाथनर्सिङ दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजनागरी मनाइएको छ। 

नेपालमा नर्स पेसाप्रति आकर्षण भएपनि स्वदेशमै रोजगारीको अवसर नहुँदा विदेशिनेको संख्या बढ्दै गएको पाइन्छ । नेपालमा नर्सिङ पेसाप्रतिको आकर्षण बढ्दो क्रममा रहेको भएतापनि स्वदेशमा नर्सहरूलाई टिकाउने विषय चुनौतीको रूपमा खडा भएको छ । 

 पाटन अस्पतालकी नर्सिङ निर्देशक शान्त डंगोल श्रेष्ठले सरकारले नर्सहरूलाई नेपालमा राम्रो सेवा सुविधा दिलाउन नसक्दा विदेशीने लहर बढेको बताइन् । 

अबको १०/१५ वर्षको अन्तरालमा दक्ष नर्स जनशक्तिको अभाव हुने अवस्था देखिरहेकामा चिन्ता व्यक्त गर्दै उनले यसबारे सरकार र स्टेक होल्डरहरुले सोच्नुपर्ने अवस्था आएको औंल्याइन् । 

उनले भनिन्,‘नेपालमा धेरै नर्सिङ कलेजहरू खुलेका छन् । त्यहाँबाट धेरै नर्सहरू उत्पादन हुन्छन् । तर उनीहरूलाई रोजगारीको अवसर छैन । ग्यारेन्टी छैन । रोजगारीका अवसर सिर्जना गर्न सरकारले गर्नुपर्ने कामहरू गर्न सकिरहेको छैन । उनीहरूलाई नेपालमा नै काम दिलाउन सकिरहेको छैन । त्यसकारण नर्सहरू नेपाल बस्नु भन्दापनि बाहिर जान रुचाउने गर्दछन् । उनीहरूको उद्देश्य भनेको नेपालमा पढ्ने विदेश गएर कमाउने रहेको छ । स्थायी रोजगारी पाएकाहरु पनि विदेश गयो भने आर्थिक रूपमा सुधार गर्न सकिन्छ, परिवारलाई पाल्न सकिन्छ भन्ने खालको सोच राख्न थालिसकेका छन् । अब १०/१५ वर्षको अन्तरालमा दक्ष नर्स जनशक्तिको अभाव हुने अवस्था देखिँदैछ । यसबारे सरकार र स्टेक होल्डरहरूले पनि सोच्नुपर्छ ।’

त्यस्तै उनका अनुसार नर्सहरूको कथा, व्यथा र पीडा बुझ्ने भनेको नर्सले नै हो तर सरकारको नीति निर्माण तहमा नर्सिङ नेतृत्व पुगेको छैन । जतिपनि नेतृत्वमा पुगेको छन् सबै चिकित्सकहरू मात्रै भएको कारण डाक्टरहरूले नर्सको कुरा बुझ्न नसक्ने उनी बताउँछिन् ।

सरकारले नीतिनिर्माण गर्ने ठाँउमा नर्सहरूको नेतृत्वलाई लानुपर्ने माग गर्दै उनले नर्सिङ क्षेत्रमा पनि राजनीतिकरण भइरहेको आरोप समेत लगाइन् । पार्टीगत भन्दापनि नर्सहरू एकताबद्ध भएर जाने नीति सरकारले बनाउनुपर्ने उनको धारणा छ । नर्सहरूको न्यूनतम तलब सरकारले तोकेको अनुसार भयो भने नर्सहरू नेपालमा नै बस्ने अवस्था सिर्जना हुनसक्ने उनको ठम्याइ छ । 

उनले भनिन्,‘यो वा त्यो पार्टी नभनीकन नर्सहरू एकताबद्ध भएर जाने नीति सरकारले बनाउनुपर्छ । नर्सिङ संघ, परिषद् सबै ठाँउमा नर्सहरूको पहुँच भनेको स्वतन्त्र हुनुपर्छ । नर्सलाई काम दिने अस्पताल, संस्थाहरुले न्यूनतम तलब दिनुपर्छ र सरकारले त्यसलाई लागू गराउन सक्नुपर्छ । नर्सहरूको न्यूनतम तलब सरकारले तोकेको अनुसार भयो भने नर्सहरू यही बस्ने अवस्था सिर्जना हुनसक्छ । आफ्नो मान्छे होइन राम्रो मान्छे छनोट गर्नुपर्यो ।’


उनले २४ घण्टा नै बिरामीको सेवामा बसेका नर्सहरूले थुप्रै चुनौती र पीडाहरू खेप्न परेको दुखेसो गरिन् ।  नर्स पेशामा आउने वित्तिकै नै पीडा सुरु हुने भन्दै उनले त्यो पीडालाई आफ्नो शक्ति बनाएर अगाडि बढ्नुपर्ने सुनाइन् । 

त्यस्तै उनले ‘एक विद्यालय एक नर्स’ भन्ने नीतिले एकदमै राम्रो भइरहेको सुनाइन । यसमा विद्यार्थीसँगै अभिभावकहर ले पनि शिक्षा लिने मौका पाएको बताइन् । यसमा थप्दै उनले भनिन्,‘एक नर्स भन्ने नीतिले एकदमै राम्रो भइरहेको छ । यसमा विद्यार्थीसँगै अभिभावकहरूले पनि शिक्षा लिने मौका पाएका छन् । पहिले यौन र मानसिक स्वास्थ्यबारे चर्चा हुने गरेको थिएन। अहिले हुने गरेको छ त्यसकारण यो नीति एकदमै राम्रो छ ।’

डाक्टरहरू आएर के औषधी दिने हो लेख्न निर्देशन दिने तर २४ घण्टा बिरामीसँग बसेर काम गर्ने नर्स भएको कारण बिरामीलाई धेरै बुझ्ने भनेको नै नर्स नै हुने गरेको दाबी गरिन् । 

त्यस्तै पाटन अस्पतालकी नर्सिङ सहायक निर्देशक गीता किलम्बूले पनि नर्सिङ क्षेत्रमा समस्या भनेको नै नेपालमा पढ्ने र विदेशिने लहर रहेको बताइन् । पढ्दा देशको लगानीपर्ने तर त्यसको आउटपुट भने विदेशमा देखिने गरेका कारण देशको र स्वास्थ्य संस्थाको अर्थतन्त्रमा पनि घाटा भइरहेको बताइन् । 

उनले भनिन्,‘नर्सिङ क्षेत्रमा समस्या भनेको नै नेपालमा पढ्ने त्यसपछि विदेशिने लहर छ । नेपाल सरकारको आफ्नो लगानी गर्छ तर त्यसको आउटपुट भने विदेशमा देखिने गरेको छ । त्यो भनेको देशको र संस्थाको अर्थतन्त्रको घाटा हो । एकदमै पढ्न सक्नेहरुले सरकारी जागिरमा नाम निकाल्छन् । तर कालान्तरमा उहाँहरू पनि विदेशिनु हुन्छ । त्यसैले यसमा पनि सरकारले विचार गर्नुपर्छ ।’

राज्यको पहुँच र नीति निर्माण तहमा नर्सहरूको प्रतिनिधित्व हुनुपर्ने उनको बुझाइ छ । ‘विभिन्न पहुँचमा नर्स पुगे भने नर्सको मूल्य बुझ्छन् जस्तो लाग्छ । त्यसैले नर्सहरूको लागि पनि कोर्ष खुल्नुपर्छ माथिल्लो स्तरमा जानका लागि। र उहाँहरुको लागि अवसर प्रदान गरिनुपर्छ । नर्सहरूलाई के कस्तो भइरहेको छ भन्ने कुरा नर्सलाई बाहेक अरूलाई थाहा हुँदैन् । त्यसैले माथिल्लो तहसम्म पनि नर्सलाई मौका दिनुपर्छ,’ उनले थपिन् ।

नेपालका नर्स विदेशीने कारण अर्थतन्त्रमा असर पर्ने र विरामी हेरचाहपनि राम्रोसँग पाउँन नसक्ने अवस्था निर्माण भएको उनी बताउँछिन् । उनले नर्सहरूलाई कसरी नेपाल रोक्ने भन्ने विषयमा सरकारले अनुसन्धान गर्नुपर्ने  आवश्यकता औँल्याइन् । अबको १० वर्षमा विरामीको हेरचाह गर्नको लागि नर्स नहोलान् भन्ने पीर परेको उनले सुनाइन् । 

उनले भनिन्,‘हामीले नर्स उत्पादन गर्यौं तर धेरैले बाहिर रोज्न थाले । यसले अर्थतन्त्र र विरामीको हेरचाहमा असर पारेको छ । एक दुई वर्ष काम गरेका त विदेश गइरहेका थिए । अहिले त २० वर्ष काम गरिसकेकाले पनि विदेश रोज्न थाले । त्यसलाई सरकारले रोक्न सक्नुपर्छ । तालीम दिने वा पारिश्रमिक बढाउने के गर्ने हो सोच्नुपर्छ । यसमा अनुसन्धान चाँही गर्न आवश्यक छ ।’

अनुभवी स्वास्थ्यकर्मीको हातमा पर्यो भने मर्न लागेको विरामी पनि बाँच्ने तर अनुभव नभएको हातमा पर्यो भने बाँच्ने विरामीपनि मर्न सक्ने भएकाले यसमा धेरै विचार पुर्याउनुपर्ने उनको भनाइ छ । 

यस्तै,पाटन अस्पतालकै अर्की नर्सिङ सहायक निर्देशक अनिता रोङगोङले अहिले नर्सिङ कलेजहरु बढेसँगै त्यहीअनुसार प्रोडक्सनहरु बढेको बताइन् । कतिपय प्रोडक्सन भएपनि दक्षताको अभावले गर्दा नर्सहरुमा अलिकति हच्केको र आत्मविश्वास नभएको महसुस आफूलाई भएको उनले सुनाइन् । 

विदेशको आकर्षण, त्यहाँको बसाई सुविधा र दैनिक रुपमा चाहिने आवश्यकता पूरा गर्न नसक्ने अवस्था देखेर पनि विदेश जानेक्रम बढेको उनको भनाइ छ । आफ्नो पेशाप्रतिको इमान्दारिता कायम राख्न सक्ने मानिस कहिल्यै पैसाको पछि नलाग्ने भन्दै आफ्नो पेसाप्रति सन्तुष्टि भए कुनै प्रलोभनले नछुने उनको बुझाइ छ । 


 

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  २२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update