
इन्द्रावती - इन्द्रावती गाउँपालिकामा दुई वर्षको अन्तरालपछि चौथो अध्यक्ष कप फुटबल प्रतियोगिता वैशाख २६ देखि २८ गतेसम्म सम्पन्न भयो। प्रतियोगितामा कुल ११ खेलहरू सञ्चालन गरिए। फाइनल खेलमा इन्द्रावती वडा नं. ९ ले वडा नं. १० लाई पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्यो । प्रतियोगिता इन्द्रावती गाउँपालिका र जिल्ला फुटबल संघ सिन्धुपाल्चोकको समन्वयमा भएको थियो।
छोटो अवधिका कारण खेलाडीलाई सास्ती
गाउँपालिकाले प्रतियोगिता सञ्चालनका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर, तीन दिनको छोटो अवधिमा ११ वटा खेल सम्पन्न गराउनुपर्ने दबाबले खेलाडी र रेफ्रीहरू दुवैलाई सास्ती भएको गुनासो सुनियो । एउटै दिनमा दुई/दुई खेल खेल्नु पर्दा खेलाडीहरूलाई ‘गोरुलाई असारमा जोतेजस्तै’ महसुस भएको वडा नं. ५ का टिम कप्तान अनुप लामाले बताए। उनका अनुसार, प्रतियोगिताको दोस्रो दिन वडा ५ ले दुई खेल खेल्नुपरेको थियो । जसले थकान र चोटपटक निम्त्याएको थियो। त्यस्तै, वडा नं. ११ ले दोस्रो र तेस्रो दिन गरेर जम्मा दुई दिनमै चार खेल खेल्नुपरेको थियो। वडाका कप्तान सुजित माझीले यस्तो चापले खेलाडीहरूको प्रदर्शन प्रभावित भएको बताए। खेलाडीले एक खेल खेले बापत १०५० पारिश्रमिक पाउने भनेपनि हालसम्म खेलाडीले सो रकम भने पाएका छन् ।
प्रतियोगिताको खेलक्रम
उद्घाटन दिन (वैशाख २६) मा इन्द्रावती वडा नं. १०, ४ र ५ विजयी भए। दोस्रो दिन (वैशाख २७) मा पाँच खेल भए । प्री-क्वार्टर, क्वार्टर र एक सेमिफाइनल खेल भए । वडा ११ ले वडा ६ लाई ६–२ गोलले पराजित गर्यो। वडा ९ ले वडा ३ लाई ३–१ ले हरायो। वडा ५ ले वडा ७ लाई २–० गोलले पराजित गर्यो। वडा ११ ले वडा ४ लाई ६–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गर्यो। सेमिफाइनलमा वडा १० ले वडा नम्बर ५ लाई पेनाल्टीमा पराजित गर्यो।
समापन दिन (वैशाख २८) को दोस्रो सेमिफाइनलमा वडा ९ ले वडा ११ लाई १–० ले पराजित गर्दै फाइनल यात्रा तय गर्यो। वडा ११ का एक खेलाडीले ‘मुख्य खेलाडी कक्षा १२ को परीक्षा दिन गएकाले टोली कमजोर देखिएको’ बताए। तेस्रो स्थानका लागि भएको खेलमा वडा नम्बर ११ ले वडा नम्बर ५ लाई पेनाल्टीमा हराउँदै तेस्रो स्थान हासिल गर्यो।
व्यवस्थापनमा कमजोरी
प्रतियोगिता छोटो अवधिमा सकाउने दबाबका कारण व्यवस्थापनमा कमजोरी भएको वडा ४ का कप्तान श्याम तामाङको आरोप छ। उनले भविष्यमा खेलाडीहरूलाई सास्ती नहोस् भन्नका लागि कम्तीमा प्रतियोगिता ५–६ दिनसम्म राख्न सुझाव दिएका छन्। अध्यक्ष कपका संयोजक तथा वडा ५ का वडाध्यक्ष शशिनाथ आचार्यले भने, ‘बजेट सीमित भएकाले छोटो अवधिमा प्रतियोगिता सञ्चालन गर्नुपरेको हो। ५ दिन बनाउँदा स्थानीय कार्यालयहरूको काम प्रभावित हुने जोखिम थियो।’ विगतमा देखिएका विवादहरू नदोहरिएकोमा खुशी व्यक्त गर्दै, उनले यसपटक खेल सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताए। प्रतियोगिता राम्रो व्यवस्थापनसहित सफलतापूर्वक सम्पन्न भएकाले सकारात्मक सन्देश प्रवाह भएको उनको भनाइ थियो। यसले आगामी दिनमा यस्ता प्रतियोगिता आयोजना गर्न थप ऊर्जा मिलेको पनि उनले उल्लेख गरे।
सहभागिताको कमी
वडा नं. २ बाट प्रतियोगितामा कुनै टोली सहभागी हुन सकेन। वडाध्यक्ष श्याम गिरीका अनुसार, अधिकांश युवा विदेशमा भएकाले टोली गठन गर्न असमर्थ भएको हो ।
आगामी वर्षका लागि प्रतिबद्धता
समापन समारोहमा इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले “खेलकुद क्षेत्र समृद्धिको आधार हो” भन्दै आगामी दिनमा खेलकुदमा बजेट वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे।
विगतको विवाद र यस वर्षको सुधार
२०७९ सालको अध्यक्ष कप प्रतियोगिता विवादित बन्दै सेमिफाइनलमै स्थगित भएको थियो। खेलाडी दर्तासम्बन्धी विवादका कारण फाइनल हुन नसकेको र मंचमै ढुंगा प्रहारसमेत भएको घटना सम्झँदै, यस वर्ष पालिकाले सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिएको थियो।