Harsamaya
राष्ट्रिय एकता हासिल गर्न सांस्कृतिक विविधतासहितको पहिचानको सम्मान र संरक्षण अनिवार्य :  दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ।

काठमाडाैं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भगवान् गौतम बुद्धले दिएको शिक्षाले न्याय, समानता र समावेशीताको आधारमा समुन्नत, समावेशी र न्यायपूर्ण समाज निर्माणतर्फ प्रेरित गरिरहेको बताएका छन् ।  बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले क्रान्ति र शान्ति परस्पर विरोधी नभई समाज परिवर्तनका परिपूरक रहेको बताउँदै बुद्धको दर्शनले यही गहन पाठ सिकाएको जिकिर गरेका छन् । 

बुद्ध जयन्ती केवल धार्मिक श्रद्धा वा सांस्कृतिक उत्सव मात्र नभई यथास्थितिविरुद्धको विद्रोह, सामाजिक रूपान्तरण र शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण पनि भएको उनको भनाई छ। उनले भनेका छन्, ‘करुणा, अहिंसा र मध्यम मार्गको मार्गदर्शनद्वारा गौतम बुद्धले तत्कालीन समाजमा व्याप्त सामाजिक अन्याय, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासविरुद्ध शान्तिपूर्ण विचार–क्रान्तिको सूत्रपात गर्नुभएको थियो, जुन आजको दिनमा पनि प्रेरणाको स्रोत बनेको छ।’

उनले विविधतायुक्त नेपाली समाजमा साँचो अर्थमा राष्ट्र निर्माण गर्दै राष्ट्रिय एकता हासिल गर्न सांस्कृतिक विविधतासहितको पहिचानको सम्मान र संरक्षण अनिवार्य रहेको बताएका छन्। 

 

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  ०७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update