
सिरहा - गोलबजार नगरपालिका वडा नं. ७ चाहेर्वा स्थित एपेक्स विद्या मन्दिरमा कक्षा ८ अध्ययनरत १३ वर्षीय छात्र अविनाश यादव शिक्षकको कुटाइबाट मुर्छित भएका छन् ।
अविनाशको बुबाले विद्यालयबाट बालक छोराको उद्धार गरी गोलबजारस्थित एक निजी अस्पतालमा भर्ना गराएका छन् । बालक अविनाशको उपचार भइरहेको छ । उनी खतरामुक्त भएपनि तङ्ग्रिन एक साता लाग्न सक्ने अस्पताल स्रोतले बताएको छ ।
शिक्षक सन्तोष गुप्ताले अविनाशलाई कोठा थुनेर बाँसको लठ्ठीले सकुनञ्जेल लगातार प्रहार गरेको विद्यार्थी अविनाशले होसमा आएपछि अस्पतालको शैय्या बाट बताएका छन् । बालक अविनाशको गाला, पिठ्यु र तिघ्रामा गहिरो घाउ चोट र दर्जनौं नील डाम देखिन्छ ।
गृहकार्य नगरेको र भने अनुसार नगरी अटेरी गरेको निहुँमा शिक्षक गुप्ताले बालक छात्रलाई मरणासन्न हुने गरी कुटेको अविनाशका बुबा सुरेश कुमार यादवले बताए । उनले भने म खाना खान बसेको थिएँ , अचानक कसैले फोन गर्यो । तिम्रो छोरालाई पिटेर बेहोस बनाएको छ भनेपछि म गाँस छोडेर कुदे । विद्यालयमा पुग्दा मेरो बच्चा इन्तु न चिन्तु थियो । उनले भने कसाईहरू रहेछन् , झण्डै मेरो बच्चा मारेनन् । सख्त कारबाही हुनुपर्छ – हामीले न्याय पाउनु पर्छ यादवले आँसु झार्दै भने ।
विद्यार्थीलाई निर्घात कुट्ने शिक्षक सन्तोष गुप्तालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । प्रहरीले कानुन बमोजिम कारबाही हुने बताएको छ ।