
वीरगन्ज - राम्रो जागिरको प्रलोभन देखाई दुईजना नेपाली युवतीलाई भारत तर्फ लागिरहेका एकजना युवकलाई वीरगंजस्थित प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङ जिल्ला गल्छी गाउँपालिका वडा २ का बर्ष २४ का रोजन भुजेल रहेको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्राले बताएका छन्।
वीरगन्ज शंकराचार्य गेटस्थित सडक खण्डमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले मंगलबार नेपालबाट भारततर्फ जाँदै गरेका २ जना युवतीहरूलाई रोकी सोधपुछ गर्दा शंकास्पद देखिएकाले थियो ।
दुबैजना युवतीलाई जिल्ला प्रहरी कार्यालय वीरगन्जमा ल्याई प्रारम्भिक अनुसन्धान गर्दा साथैमा रहेका भुजेलले हेटौँडा तथा वीरगन्जको कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाइदिने भनि प्रलोभनमा पारी बेच-बिखन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै गरेको देखिन आएको एसपी मिश्राले आज सार्वजनिक गरेका छन्।
आरोपी रोजन भुजेललाई नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा पर्सा जिल्ला अदालतबाट५ दिनको म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।