Harsamaya
एमाले धनुषा अधिवेशनमा ढुंगा हानाहान, अवस्था तनावग्रस्त
जनकपुरधाममा जारी नेकपा एमालेको धनुषाको आठौं जिल्ला अधिवेशन स्थलमा दुई पक्षबीच झडप हुँदा अवस्था तनावग्रस्त भएको छ ।

जनकपुर - जनकपुरधाममा जारी नेकपा एमालेको धनुषाको आठौं जिल्ला अधिवेशन स्थलमा दुई पक्षबीच झडप हुँदा अवस्था तनावग्रस्त भएको छ । निर्वाचन हुने भनिएको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको हल र परिसरमा अहिले पनि दुबै पक्षबीच झडप भएको हो । 

ढुंगा हानाहानका साथै कुर्सी, पंडाल, रुखका हाँगालगायत प्राङ्गणमा भएका वस्तुहरूमा तोडफोड र हानाहान भएको हो । झडपमा केही स्थानीय नेता कार्यकर्ता घाइते समेत भएका छन् । उनीहरूको विवरण आउन बाँकी छ ।

अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा कुर्सी हानाहान सुरु भएको थियो । त्यसपछि विवादले अहिले उग्र रूप लिएको छ ।

गत २० वैशाखदेखि सुरु भएको अधिवेशनमा सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने निर्णय भएको थियो ।

सोमबार राति नै मनोनयन दर्ता भएकोमा उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद सुरु भएको थियो ।

आज बिहान साढे ८ बजेदेखि नै मतदान हुने समय निर्वाचन समितिले तोकेकोमा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन भने असन्तुष्ट पक्षहरूबीच मतदानस्थलमा झडप भइरहेको छ । सुरक्षाकर्मीले स्थित नियन्त्रणमा लिने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update