Harsamaya
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी ।

काठमाडौं - नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले रेशम चौधरी पक्राउ प्रकरणमा सरकारको धारणा माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रेशम चौधरी पक्राउ परेको प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्री सदनमा आएर जवाफ दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘पूर्व माननीय रेशम चौधरीलाई अपहरण शैलीमा डिल्लीबजार पुर्याइयो । महिमानसिंह विष्टले जुन पक्राउ गर्ने पुर्जी काट्नु भएको छ, सर्वोच्च अदालतले त्यसलाई फर्जी भनेको छ । यतिबेलासम्म पनि सरकारले कहीँ कतै नबोलेको हुनाले म यसै गरिमामय सदनलाई प्रधानमन्त्री, गृहमन्त्रीले जवाफ दिन माग गर्दछु ।’साथै उनले प्रधानमन्त्री र गृहमन्त्रीले सदनमा आएर जवाफ नदिएमा आफूहरू सरकार छाड्न बाध्य हुने चेतावनी दिए ।

गत वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणा कार्यक्रम थियो । तर, गलत पत्रको आधारमा रेशमलाई पक्राउ गरी डिल्लीबजार कारागार पठाइएको थियो । सर्वोच्चले रेशमलाई थुनामा पठाउने पत्र फर्जी रहेको भनी अर्को पत्र काटेसँगै साढे ५ घण्टा कारागार बसेर उनी छुटेका थिए ।
 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update