 
                                                            लमजुङ - राष्ट्रपति रामचन्द्र पौडेलले भाषा, साहित्य, संस्कृति र दर्शन मानव जीवनका लागि अपरिहार्य विषय भएको र भाषिक तथा सांस्कृतिक बहुलता एवम् भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव एवम् पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृतिहरू रहेको बताएका छन् । उनले यीनको संरक्षण, संवर्धन र विकास गर्नु हामी सबैको कर्तव्य भएको धारणा व्यक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठानको आयोजना र मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको सहआयोजनामा लमजुङ बाहुनडाँडा पुस्तुनमा आयोजित राष्ट्रकवि घिमिरेको पूर्णकदको शालिक अनावरण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उक्त विचार व्यक्त गरे ।
‘प्रतिभाका धनी स्रष्टा र साहित्यकारलाई समाज र सरकारले साथ, सहयोग र सम्मान गर्न कुनै कञ्जुस्याई गर्न हुँदैन भन्ने मलाइ लाग्दछ’, राष्ट्रपति पौडेलले भने । विगतमा तत्कालीन पश्चिम ३ नम्बर लम्जुङ, तनहुँ र कास्की भाषा, साहित्य, संस्कृति र कला मात्र नभई राजनीतिक र सामाजिक जागरणको उर्वर भूमि रहेको र लमजुङको हलो क्रान्तिले ल्याएको सामाजिक परिवर्तन र त्यसको जगमा गति लिएको राणाविरोधी आन्दोलनलाई पूर्णता दिन पुर्याएको सहयोगलाई कहिल्यै विर्सन हुन्न भने ।
‘जहाँनीया राणा शासन विरोधी क्रान्तिमा तनहुँको बन्दीपुर कब्जा गरेर यो क्षेत्रले देखाएको राजनीतिक जागरुकता र क्रियाशीलताको एउटा युगिन झड्का इतिहासमा चर्चित छ, तीनै राजनीतिक, सामाजिक तथा सांस्कृतिक क्रान्तिको जगमा उभिएर आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो’, राष्ट्रपति पौडेलले भने ।
ठूलो राजनीतिक परिवर्तनपछि जनताले मुलुकको समृद्धिको अपेक्षा गरेको तथा जनताको यो अपेक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रले लिएको लक्षअनुसार अब तीव्र विकास, सुशासन र आर्थिक समृद्धितर्फ हामी सबैको ध्यान केन्द्रित हुनुपर्ने उनको भनाई थियो ।
‘कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मभूमि अर्घौअर्चले, जनकविकेशरी धर्मराज थापाको बाटुलेचौर, अलिमियाँको कुँडहरदेखि प्रसिद्ध समालोचक प्रोफेसर यदुनाथ खनालको जन्मभूमि मानुङ, आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घा हुँदै राष्ट्रकविको जन्मथलो पुस्तुन बाहुनडाँडासम्मका स्थलहरूलाई समेटी एउटा गण्डकी साहित्य सर्कल (चक्र) निर्माणको लागि म आग्रह गर्दछु’, उनले भने ।
साथै यसै सन्दर्भमा तनहुँको आदिकवि भानुभक्तको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल बनाउने योजना अघि बढेकोले यसमा सबैको सहयोगको लागि उनले आव्हान गरे । 
राष्ट्रकविको जन्मस्थान बाहुनडाँडा पुस्तुनमा उहाँको नाममा बनेको पार्क र निर्मित शालिकसँगै यस क्षेत्रको महत्व र गरिमा बढेर यो समग्र भाषा साहित्यप्रेमीहरूको एउटा आकर्षक गन्तव्यस्थलका रुपमा विकास हुने उनले विश्वास व्यक्त गरे । 
हामीले भोगेको समय र समाज, दुःखसुख, जनजीवन एवम् परिवेशको यथार्थ चित्रण स्रष्टाका रचनामा प्रतिविम्बित हुने गर्दछ भन्दै राष्ट्रपति पौडेलले यी रचना एउटा अभिलेखका रूपमा वर्तमानमा मात्र होइन भावी पुस्ताका लागि पनि तत्कालीन परिवेशलाई बुझ्ने जीवन्त दस्तावेज भएको उनको भनाई थियो ।
‘गण्डकी प्रदेशको लमजुङ भाषा, साहित्य, संस्कृति र कलाको केन्द्र हो । यहाँका वस्ती र पाखापखेरामा प्रस्तुत हुने बालन, भजन, चुड्का, घाँटु, सोरठी र ठाडो भाकामात्र होइन हिमालको काखमा अवस्थित यहाँको पहाडी रमणीय प्रकृतिले यसलाई स्रष्टा र साहित्यको लागि उर्वर वातावरण दिएको छ’, राष्ट्रपति पौडेलले भने ।
यसैको सेरोफेरोमा पूर्वीय जीवन र दर्शनलाई दिशावोध गर्ने चार वेद र अठार पुराणका रचयिता वेदव्यास, नेपाली भाषा साहित्यलाई युगिन बाटोतर्फ डोर्याउने आदिकवि भानुभक्त र कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मभूमि रहेको प्रसंग उल्लेख गर्दै उनले यही सेरोफेरो, हावापानी र प्रकृतिले यो पुस्तुनमा नेपाली काव्यधराका धरोहर माधवप्रसाद घिमिरेको जन्म भयो जो नेपाली साहित्यको क्षेत्रमा अतुलनीय योगदान दिन सफल हुनुभएको धारणा व्यक्त गरे ।
 


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    -1761640064.jpg)