Harsamaya
रौतहटमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु
दुर्घटनापछि कार र मोटरसाइकल ।

रौतहट - रौतहटको चन्द्रपुर नगरपालिका ४ पूर्व पश्चिम लोकमार्गमा पश्चिम लच्का नजिक विपरीत दिशाबाट आउँदै गरेको कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबु छोरीको मृत्यु भएको छ।

हेटौडाबाट चन्द्रपुरतर्फ आउँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले निजगढतर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकल आज बिहान सवा ६ बजे ठक्कर दिएको थियो। 

ठक्करबाट मोटरसाइकल चालक गरुडा नगरपालिका–३ मलाहिटोल बस्ने वर्ष ६० को बलिराम सहनिको दाहिने खुट्टा,ढाड र अन्डकोषमा गम्भीर चोट लागेको थियो। सहनीको स्थानीय हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए । 

त्यस्तै मोटरसाइकलमा पछाडी सवार मृतक सहनीको छोरी वर्ष ४० की उर्मिला देवी सहनीको दाहिने हात र ढाडमा गम्भीर चोट लागेको थियो। उर्मिला देवीलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि एलएस न्युरो अस्पताल बारातर्फ पठाइएकोमा उपचारको क्रममा बिहान ९ बजे डाक्टरले मृत घोषणा गरेको प्रवक्ता रायले बताए । 

ठक्कर दिने कार र चालक हेटौँडा उपमहानगरपालिका १२ बस्ने वर्ष ४३ का कुमार पोख्रेल ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ। घटनास्थल चन्द्रनिगाहपुरबाट ६ किलोमिटर पश्चिममा रहेको छ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update