Harsamaya
वंशवाद र अनिर्वाचित सत्ता एमालेले कहिल्यै स्वीकार गर्दैन : ईश्वर पोखरेल
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ।

जनकपुर -  नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालमा गणतन्त्रको विरुद्धमा भइरहेका प्रयत्नहरूको कडा आलोचना गरेका छन् । शनिबार जनकपुरधाममा आयोजित एमालेको धनुषा आठौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले  वंशवाद र अनिर्वाचित सत्ताको अभ्यासलाई एमालेले कहिल्यै स्वीकार नगर्ने बताएका हुन् । 

कार्यक्रममा  पोखरेलले भने, ‘श्री ५ बा र श्री ५ नातिको व्यवस्था एमालेको दृष्टिमा अस्वीकार्य छ । हामी त्यस्तो सत्ताविरुद्ध एक्लै भए पनि लड्छौँ, र पराजित गर्छौँ ।’ उनले पूर्वराजाको नाममा पुनः सत्तामा फर्कने चाहना बोकेका तत्त्वहरूले संविधान र जनमतको अपमान गरिरहेको बताउँदै त्यो प्रयास सफल नहुने दाबी गरे । ‘पूर्व राजा नागरिक हुन् । यदि उनलाई सत्ता चाहिएको हो भने निर्वाचनको बाटो रोजुन्,’ पोखरेलले भने ।

पोखरेलले नेपाली काँग्रेससँगको सहकार्यको सन्दर्भमा व्यङ्ग्यात्मक शैलीमा भने, ‘काङ्ग्रेससँग अहिले हाम्रो सम्बन्ध मादल र हार्मोनियमजस्तो छ । मिठास त छ । तर, ताल पनि अलग–अलग । हामी सहकार्य गर्छौँ । तर, प्रतिस्पर्धा बिर्सिन्नौ ।’ उनले सहकार्य र प्रतिस्पर्धा दुबैलाई सन्तुलनमा राख्दै संविधानको मूल मर्मलाई अघि बढाउनु पर्ने बताए । पोखरेलले विगत पञ्चायती शासन र वर्तमान लोकतान्त्रिक प्रणालीबिचको तुलना गर्दै व्यापक विकास भएको दाबी गरे । 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update