Harsamaya
चार वटा संसदीय समितिको बैठक बस्दै
संघीय संसद ।

काठमाडौं - संघीय संसद अन्तर्गत आज चार वटा समितिको बैठक बस्दै छ । आज अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो । 

बिहान साढे ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँग छलफल गरिने कार्यसूची रहेको छ । 

यसै गरी अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे समितिको बैठक कक्षमा बस्ने भएको छ । बैठकमा समितिको वार्षिक प्रतिवेदन बारे आन्तरिक छलफल गरिनेछ । यस्तै बिहान १०ः३० बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सम्बन्धी र समग्र कृषि क्षेत्रको विकासमा सिँचाइ, मल खाद, चक्लाबन्दी, प्रविधिको प्रयोग, अनुदान, बजारीकरण लगायतका विषयमा कृषि, वन, ऊर्जा, भूमि र अर्थ मन्त्रालयसँग छलफल गरिने कार्यसूची रहेको छ । 

यस्तै, संघीय संसद, सार्वजनिक लेखा समितिको ४० औँ बैठक आज दिनको १ः३० बजे बस्दै छ । बैठकमा लेखा समितिको  २३ औँ प्रतिवेदनको मस्यौदा र पोखरा विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन सम्बन्धमा, उजुरी तथा बेरुजु छलफलको प्रगति सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update