
काठमाडौं - भारतको विदेश मन्त्रालयले भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयकी नेपाली विद्यार्थीको दुःखद निधनले अत्यन्तै दुःखी भएका जनाएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले कठिन घडीमा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।
‘यस दुःखद घटनाबारे जानकारी प्राप्त भएदेखि नै विदेश मन्त्रालय ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको छ । ओडिशा राज्य सरकारले मृतकको परिवारलाई पूर्ण सहयोग प्रदान गरेको छ र ओडिशा प्रहरीले हाल यस घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ’ , विज्ञप्तिमा भनिएको छ ।
भारत सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सकुशलता, सुरक्षा र हितलाई निकै गम्भीरताका साथ लिएको दाबी गरेको छ । यस विषयबारे तत्कालै सूचना आदानप्रदान तथा समन्वयलाई सुनिश्चित गर्न नेपाली अधिकारीहरू, ओडिशा राज्य सरकार साथै केआईआईटी व्यवस्थापनसँग निरन्तर सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।
भारतको उडिसा राज्यस्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टेलमा नेपाली विद्यार्थी प्रिन्सी शाह बिहीबार राति मृत फेला परेकी थिइन् ।
<>